२० मंसिर २०८२, शनिबार

एकीकृत समाजवादी निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) को सातौँ राष्ट्रिय सम्मेलनको तयारी पूरा

प्रकाशित मिति :  16 May, 2025 4:25 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) केन्द्रिय समितिको सातौँ राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।

सङ्घले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सातौँ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

“समाजवाद निर्माणको आधार तयार गरौँ, राज्यको सम्पूर्ण क्षेत्रमा समानुपातिक सहभागिता सुनिश्चित गरौँ” भन्ने नाराका साथ सम्मेलन हुन लागेको सङ्घकी अध्यक्ष जयन्ती राईले जानकारी गराइन् ।

उनले आगामी शनिवार (भोलि)देखि आईतवारसम्म चल्ने उक्त सम्मेलनमा देशभरबाट ५ सय ९८ जना प्रतिनिधिहरूको सहभागिता रहने बताइन् । उनले सम्मेलनको उद्घाटन एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्ने जानकारी दिइन् ।

उक्त सम्मेलनमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाललगायत शिर्ष नेताहरूले सम्बोधन गर्ने छन्। साथै सम्मेलनको उद्घाटन सत्रमा नेपाली कम्युनिस्ट आन्दोलन, लोकतन्त्र र महिला आन्दोलनका अग्रणी व्यक्तित्वहरूलाई सम्मान गरिने सङ्घले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !