विचारविना वाम एकता सम्भव छैन-प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले विचारविना गरिएको वाम एकता दीगो नहुने स्पष्ट पारेका छन् ।
उनले केवल नामको एकता वा स्वार्थको समीकरणका भरमा वाम आन्दोलनलाई सुदृढ बनाउने सपना सम्भव नरहेको बताउँदै, सही विचारमा सहमत गराएर मात्रै एकता सम्भव हुने धारणा व्यक्त गरेका छन् ।
मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसरमा बुधबार बल्खुस्थित मदननगरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वाम आन्दोलनभित्र वैचारिक स्पष्टतामै जोड दिनुपर्ने उल्लेख गरे ।
उनले भने, “सही कुरामा पनि बखेडा निकाल्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा देखिँदै आएको छ। खास वैचारिक भिन्नता नभए पनि व्यक्तिगत स्वार्थका कारण दुई लाइनको कुस्ती खेलिन्छ । विभाजन गरेर नामकै लागि एकता देखाउने परिपाटी पनि छ ।”
अध्यक्ष ओलीका अनुसार एमाले भने सही धारमा अघि बढ्दै आएको छ । जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) ले कम्युनिष्टहरु निरङ्कुश हुन्छन् भन्ने आरोपको खण्डन गरेको स्मरण गर्दै उनले जबजलाई नेपालको राष्ट्रिय नीतिका रूपमा स्थापित भइसकेको उल्लेख गरे ।
उनले भने, “राजनीतिक लोकतन्त्र मात्र होइन, आर्थिक, सामाजिक तथा मानव अधिकारको सवालमा समेत जबजले मार्गदर्शन गरेको छ । यसै जगमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लाग्नुपर्नेछ ।”
प्रधानमन्त्री ओलीले शक्तिको वास्तविक स्रोत जनता नै भएको बताउँदै राष्ट्रिय स्वाधीनता र अखण्डताको मार्ग कहिल्यै नछोडेको दाबी गरे ।
उनले प्रतिगमनको नाममा राजतन्त्र फर्काउने प्रयास असम्भव र अस्वीकार्य रहेको उल्लेख गर्दै भने, “एमालेको नेतृत्वलाई बदनाम गरेर पार्टी ढाल्न सकिन्छ भन्ने तत्वहरुले अनेक षड्यन्त्र गरे, तर एमाले हरेक परिस्थितिमा जुझ्न तयार छ।”
प्रधानमन्त्री ओलीले दक्षिणपन्थ, जातीयता र अराजकतावादका कारण विश्वका वामपन्थी आन्दोलनमा क्षति भएको उदाहरण प्रस्तुत गर्दै आफूहरुले त्यसबाट सिकेर विविधतालाई सांस्कृतिक समृद्धिको रूपमा आत्मसात गर्दै एकता र शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो लिएको स्पष्ट गरे ।
विगतमा पार्टीभित्रकै विग्रहवादी तत्वका कारण आफ्नो सरकार ढालिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले अदालतको आदेशबाट सरकार गठन गर्ने गलत अभ्यास भएको टिप्पणी गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले जननेता मदन भण्डारीलाई युगानुकूल नीतिकार र रणनीतिकारको रूपमा स्मरण गरे । विश्वमा वाम आन्दोलन कमजोर हुँदै गएका बेला भण्डारीले प्रतिपादन गरेको जबजको वैचारिक मार्गदर्शनले पार्टीलाई लोकप्रिय बनाई दुई तिहाइको हैसियतसम्म पुर्याएको उनको भनाइ थियो ।
मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, आश्रित पत्नी माया ज्ञवालीसहितका नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्ष ओलीसहित नेता कार्यकर्ताले दिवंगत नेताप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।








