याङ्गो र ट्याक्सीमाण्डूबिच सहकार्यः न्यूनतम ४० रुपैयाँमा राइड, कमिशन केवल ३ प्रतिशत
काठमाडौँ । नेपालको पुरानो र विश्वासिलो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय एप याङ्गोबीच ऐतिहासिक सहकार्य भएको छ।
यस सहकार्यपछि अब याङ्गो एपमार्फत नेपाली प्रयोगकर्ताले पनि सहज रूपमा बाइक र ट्याक्सी राइड लिन सक्ने भएका छन्। याङ्गो हाल ३० भन्दा बढी देशमा सेवा दिइरहेको विश्वव्यापी प्रविधि कम्पनी हो, जसले अफ्रिका, ल्याटिन अमेरिका, युरोप र दक्षिण एशियाका विभिन्न शहरमा राइड, डेलिभरी, फूडटेक तथा डिजिटल सेवा प्रदान गर्दै आएको छ।
मंगलबारबाट नेपालमा सफ्ट लन्च गरिएको याङ्गो एपमार्फत न्यूनतम ४० रुपैयाँमा बाइक राइड र १८० रुपैयाँमा ट्याक्सी राइड सुरु हुनेछ। ट्याक्सीमाण्डूका प्रबन्ध निर्देशक अर्जुन केसीका अनुसार अन्तर्राष्ट्रिय प्रविधिको अनुभव अब नेपाली यात्रु र चालक दुवैका लागि सहज र सुलभ बनाइएको छ।
सेवाको सुरुआती चरणमा चालक र यात्रु दुवैका लागि बोनस योजना लागू गरिएको छ। साथै, आगामी तीन वर्षसम्म याङ्गोले केवल ३ प्रतिशत कमिशन मात्र लिनेछ। यो हाल नेपालमा उपलब्ध राइड सेयरिङ सेवामध्ये सबैभन्दा कम कमिशन दर हो, जसले चालकहरूलाई आम्दानीमा प्रत्यक्ष सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
याङ्गोले आफ्नै सवारी नभई स्थानीय चालक र व्यवसायीसँग सहकार्य गर्दै सेवा प्रदान गर्छ। याङ्गोका प्रमुख व्यापार अधिकृत अदेनियी अदेबायोले भने, “स्थानीय उद्यमीसँगको सहकार्यले आर्थिक अवसर सिर्जना गर्नुका साथै सहरको स्मार्ट मोबिलिटी पूर्वाधारमा योगदान पुर्याउनेछ।”
याङ्गो एपमा डिजिटल लेखा प्रणाली, रियल टाइम ट्रयाकिङ, फ्लिट व्यवस्थापन, स्वचालित भाडा गणना र २० भन्दा बढी सुरक्षा फिचरहरू समावेश छन्। हाललाई नगद भुक्तानीको व्यवस्था गरिएको भए पनि छिट्टै अनलाइन भुक्तानी सुविधा पनि थपिने बताइएको छ।
अब ट्याक्सी चालक र बाइक राइडरहरूले घरमै बसेर क्यूआर कोड स्क्यान गरी सहज रूपमा आफूलाई एपमा दर्ता गर्न सक्नेछन्। यसरी केही मिनेटमै प्रोफाइल एक्टिभ हुने प्रणाली विकास गरिएको छ, जसले चालकको समय र खर्च बचाउने ट्याक्सीमाण्डूका प्रबन्ध निर्देशक केसीले बताए।
हाल सेवा विस्तारको लागि १० भन्दा बढी एजेन्सीमार्फत याङ्गोको सेवा बजारमा उपलब्ध गराइएको छ। नेपालमा राइड सेयरिङ सेवाको क्षेत्रमा यो सहकार्यलाई गेम चेन्जरको रूपमा हेरिएको छ।








