हार्ड रक क्याफे काठमाडौँले ५४औं स्थापना दिवस मनाउँदै छोयला बर्गर सार्वजनिक

काठमाडौँ । दरबारमार्गस्थित हार्ड रक क्याफे काठमाडौँले आफ्नो ५४औं स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ। शनिवार आयोजित समारोहमार्फत अमेरिकन फ्रेन्चाइज क्याफेले नयाँ परिकार ‘छोयला बर्गर’को लन्च गर्दै वार्षिकोत्सव मनाएको हो।
हार्ड रक क्याफेले विश्वभर रहेका १७० भन्दा बढी शाखाहरूमा एकैदिन स्थापना दिवस मनाएको हो। क्याफेका महाप्रबन्धक नारायणप्रसाद सुवेदीका अनुसार हरेक देशको शाखाले स्थानीय स्वाद अनुसार नयाँ बर्गर लन्च गर्ने परम्परा अनुसार काठमाडौँ शाखाले पनि यस वर्ष नेपाली स्वाद झल्किने ‘छोयला बर्गर’ सार्वजनिक गरेको हो।
क्याफेले नयाँ बर्गर आफ्नै सेफ विप्लव महर्जनको नेतृत्वमा तयार गरेको हो। “गत वर्ष सार्वजनिक गरिएको काठमाडौं बर्गर विश्वभरका हार्ड रक शाखाहरूमा उत्कृष्ट पाँच बर्गरमध्ये परेको थियो,” सुवेदीले भने, “हामीले केवल खानाको अनुभव मात्र होइन, नेपालको पर्यटन प्रवर्द्धनमा पनि टेवा पु¥याइरहेका छौँ।”
क्याफेभित्र सुभिनियर सप पनि सञ्चालनमा रहेको छ, जहाँ टिसर्ट, मग, ग्लासजस्ता वस्तु उपलब्ध छन्। सुवेदीका अनुसार अहिले दरबारमार्ग र पाटनमा सुभिनियर सप सञ्चालनमा छन् भने ठमेलमा नयाँ सुभिनियर सप खोल्ने तयारी भइरहेको छ।
त्यस्तै, हार्ड रक क्याफे पोखरामा पनि नयाँ शाखा खोल्ने तयारी भइरहेको जानकारी सुवेदीले दिए। हप्ताको अन्त्यतर्फ क्याफेमा लाइभ म्युजिक लगायतका सांगीतिक कार्यक्रमहरू पनि नियमित रूपमा आयोजना हुँदै आएका छन्।
कार्यक्रममा डेनमार्कका वाणिज्य दूत हरि धरेल र सेफ गोविन्द नरसिंह केसीको समेत उपस्थिति रहेको थियो। हार्ड रक क्याफे काठमाडौं सन् २०२१ को नोभेम्बरमा स्थापना भएको हो।