ओलम्पिक डे अवसरमा नेसनल प्याब्सनद्वारा राष्ट्रव्यापी चित्रकला प्रतियोगिता आयोजना हुने

काठमाडौँ । हरेक वर्ष जुन २३ मा मनाइने “ओलम्पिक डे” को अवसरमा यस वर्ष पनि नेसनल प्याब्सन केन्द्रीय समितिको आयोजनामा राष्ट्रव्यापी चित्रकला प्रतियोगिता हुने भएको छ।
प्रतियोगितालाई यही असार ९ गते देशभरका सम्पूर्ण विद्यालयहरूको सहभागिता गराई सञ्चालन गरिने नेसनल प्याब्सनले जनाएको छ।
नेसनल प्याब्सनका महासचिव प्रतापबहादुर थापाद्वारा सम्पूर्ण जिल्ला समिति तथा पालिका र प्रदेश समितिहरूलाई पठाइएको सूचनामा प्रतियोगिताको सम्पूर्ण कार्यविधि र चरणबद्ध प्रक्रिया उल्लेख गरिएको छ।
सूचनाअनुसार, प्रत्येक विद्यालयबाट ३ जना उत्कृष्ट विद्यार्थीहरूको चित्र पालिका समितिमा पठाइनेछ। पालिका समितिले त्यसमध्ये उत्कृष्ट १० चित्र जिल्ला समितिमा पठाउनेछ भने जिल्ला समितिले सोही अनुसार उत्कृष्ट १० चित्र प्रदेश समितिमा पठाउनेछ।
प्रदेश समितिले छनोट गरेको उत्कृष्ट १० चित्र असार ११ गतेभित्र नेसनल प्याब्सन केन्द्रीय समितिमा पठाउनु पर्नेछ। यसरी केन्द्रमा प्राप्त चित्रहरूमध्ये उत्कृष्ट १० चित्र नेपाल ओलम्पिक कमिटीमा पठाइनेछ, जसमा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ।
प्रतियोगिताको विषयवस्तु ओलम्पिक मुभमेन्ट, ओलम्पिक कमिटी अफ एसिया, इन्टरनेसनल ओलम्पिक कमिटी , नेपालको झन्डा, नेपाली ओलम्पियनहरू, ओलम्पिक खेलकुद, ओलम्पिकका मूल्यहरू, नेपालको संस्कृति तथा भौगोलिक बनावट जस्ता महत्वपूर्ण विषय समेटिएको हुनुपर्नेछ।
प्रतियोगितामा प्रयोग गरिने रंग विद्यार्थीहरूको इच्छाअनुसार पानी रंग, एक्रिलिक, पेस्टल, तेल पेस्टल हुन सक्नेछ। सहभागीहरूले रंग तथा ब्रस आफैं ल्याउनु पर्नेछ भने आवश्यक एफाे साइजको कागज विद्यालयद्वारा उपलब्ध गराइनेछ।
नेसनल प्याब्सनले सबै समितिहरूलाई समयमै आवश्यक समन्वय गरी प्रतियोगिता सफल बनाउने अनुरोध समेत गरेको छ।