२० मंसिर २०८२, शनिबार

मन्त्री दीपक खड्काको टिप्पणी : कर्मचारीको कार्यशैली सुधारिएन भने देश जटिल मोडमा पुग्ने खतरा

प्रकाशित मिति :  17 June, 2025 7:02 pm


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारी कर्मचारीहरूको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।

मङ्गलवार मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले कार्यसम्पादनमा देखिएको ढिलासुस्तीप्रति गम्भीर चिन्ता व्यक्त गरे ।

उनले कर्मचारीमा कामप्रति समर्पण र परिणाममुखी सोचको अभाव रहेको उल्लेख गर्दै यस्तो प्रवृत्तिले देशलाई जटिल मोडमा पुर्याउने चेतावनी दिए । “समयमै सुधार नगरे वर्तमान अवस्था झनै बिग्रनेछ,” मन्त्री खड्काले भने, “अब आत्मसमीक्षा जरुरी छ ।”

कार्यक्रममा मन्त्री खड्काले विदेश भ्रमण, रिफ्रेसमेन्ट र औपचारिकतामा समय खर्चिए पनि सेवा प्रवाह र परियोजना कार्यान्वयनमा भने चित्तबुझ्दो प्रगति नदेखिएको गुनासो गरे । उनले सरकारी कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीप्रति स्वाभिमानी, प्रतिबद्ध र उत्तरदायी बन्न आग्रह गरे ।

“काम गर्ने शैलीमा परिवर्तन ल्याउनैपर्छ,” उनले भने, “परिणाम नदिने कार्यशैलीको अब अन्त्य हुनुपर्छ।” मन्त्री खड्काका अनुसार चालु आर्थिक वर्षको ११ महिना बितिसक्दा पनि मन्त्रालय तथा मातहतका निकायहरूबाट उल्लेखनीय प्रगति हासिल हुन सकेको छैन ।

उनले मन्त्रालयको लक्ष्य र प्रतिबद्धताअनुसारको काम हुन नसक्नु दुःखद विषय भएको उल्लेख गरे । कार्यक्रममा मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति थियो।



प्रतिक्रिया दिनुहोस !