२० मंसिर २०८२, शनिबार

प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज

प्रकाशित मिति :  18 June, 2025 10:56 am


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ ।

आयोगको बैठकमा मुलुकमा सुशासन प्रवर्धन गर्न भइरहेका कामको समिक्षा गर्दै आगामी सुधारका उपायहरूबारे महत्वपूर्ण छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री ओलीका स्वकीय सहसचिव रोश्नी मेचेका अनुसार बैठकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारी संरचनाहरूमा सुशासन सुनिश्चित गर्ने विषयमा व्यापक विचारविमर्श हुनेछ ।

भ्रष्टाचार न्यूनीकरण, सेवा प्रवाहमा पारदर्शिता, उत्तरदायित्व तथा जनउत्तरदायी प्रशासन प्रणाली निर्माण जस्ता विषयहरू बैठकको प्राथमिक एजेन्डामा रहेका छन् ।

उक्त आयोग गत वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले गठन गर्ने निर्णय गरेको थियो । आयोगमा प्रधानमन्त्री ओली अध्यक्ष रहने गरी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया लगायत सदस्य रहेका छन् ।

सरकारले सुशासनलाई समृद्ध राष्ट्र निर्माणको मेरुदण्डको रूपमा लिँदै आएको सन्दर्भमा उच्चस्तरीय आयोगमार्फत त्यसको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ ।

आयोगको आगामी बैठकमा मन्त्रालयस्तरीय प्रगति विवरण, प्रशासनिक सुधार योजना तथा नागरिक सेवासम्बन्धी गुनासो व्यवस्थापन प्रणालीबारे समेत छलफल हुने जनाइएको छ ।

सरकारका प्रवक्ताहरूले सुशासन आयोगलाई प्रभावकारी बनाई देशभर भ्रष्टाचार नियन्त्रण र जनसेवामा सुधार ल्याउने दिशामा ठोस काम हुने विश्वास व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !