एमालेभित्रका समस्या समाधान गर्न वर्तमान नेतृत्व सक्षम छ-उपप्रधानमन्त्री पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न पार्टी नेतृत्व आफैँ सक्षम रहेको स्पष्ट गरेका छन् ।
पार्टीभित्रका केही समस्यालाई नीति र विधिका माध्यमबाट हल गर्न सकिने बताउँदै उनले एमालेमा देखिएका समस्या समाधानका लागि बाह्य सहयोग आवश्यक नरहेको धारणा व्यक्त गरे ।
पार्टीको जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले समकालीन अन्य राजनीतिक दलहरूसँग तुलना गर्दा एमाले कम आन्तरिक समस्या भएको पार्टी भएको दाबी गरे । उनले भने, “कतै पनि सग्लो, गंगाजल जस्तो, धोएको मुला जस्तो पार्टी भेटिन्न तर एमालेमा देखिएका समस्याहरू समाधान गर्न नेतृत्व सक्षम छ।”
उनले पार्टी विधान महाधिवेशन नजिकिँदै गरेको सन्दर्भमा त्यसको तयारीमा पार्टी जुटिरहेको जानकारी दिए । आगामी भदौको तेस्रो साता आयोजना हुने विधान महाधिवेशनले दशौं महाधिवेशनपछि देखा परेका कार्यान्वयनका कठिनाइलाई सहज बनाउने र पार्टी संरचना तथा विधिमा आवश्यक सुधार गर्ने बताउँदै पौडेलले विधान महाधिवेशनले वैधानिक सुधार र निर्देशन तय गर्ने बताए ।
विधान महाधिवेशन अघि नेतृत्वको विषयमा अनावश्यक अड्कलबाजी नगर्न जनसंगठनका प्रतिनिधिलाई निर्देशन दिँदै उनले भने, “विधान महाधिवेशनले विधि तय गरेपछि मात्र नेतृत्वको विषयमा छलफल गर्नु उपयुक्त हुन्छ। अहिलेको अवस्थामा पार्टीमा नेतृत्वको समस्या छैन ।”
उपाध्यक्ष पौडेलले हाल जनसंगठन र पार्टीको संगठनात्मक सक्रियता कमजोर देखिएको स्वीकार गर्दै सबै तहका कार्यकर्ताहरूलाई शिथिलता चिर्न आग्रह गरे ।
“कुनैबेला सिटी फुक्नासाथ हजारौं मानिस सडकमा ओइरिने एमाले आज किन सुस्ताएको देखिन्छ?” भन्दै उनले जनसंगठनहरूलाई जनमाझ उर्जा भर्न र संगठन विस्तारमा सक्रिय हुन आह्वान गरे ।
उनले जनसंगठनहरूलाई पार्टी निर्माणको मेरुदण्डको रुपमा चित्रण गर्दै अतीतमा २०४६/०४७ र २०६२/०६३ सालका आन्दोलनहरूमा जनसंगठनको भूमिका सशक्त रहेको स्मरण गरे तर हाल कतिपय जनसंगठनले नयाँ सदस्य परिचालन गर्नुभन्दा पनि पार्टीकै कार्यकर्तालाई संगठनमा ल्याएर फेरि पार्टीमै फर्काइदिने प्रवृत्ति बढेको भन्दै त्यसले संगठनको विकास रोकिएको टिप्पणी गरे ।
बैठकमा संयन्त्र अन्तर्गत रहेका १६ वटा जनसंगठनका इन्चार्ज, अध्यक्ष, निवर्तमान अध्यक्ष र महासचिवहरूको सहभागिता रहेको छ । बैठक संयन्त्रका इन्चार्ज भानुभक्त ढकालको अध्मायक्षतामा सञ्चालन भइरहेको छ भने सहभागीहरूले जनसंगठनको हालको अवस्था र भविष्यको योजनाबारे रिपोर्टिङ गरिरहेका छन् ।
पार्टीको आगामी विधान महाधिवेशन र सांगठनिक सुदृढीकरणका सन्दर्भमा यो बैठक निर्णायक हुने एमाले नेताहरूले बताएका छन् ।








