२० मंसिर २०८२, शनिबार

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रकाशित मिति :  19 June, 2025 6:05 am


काठमाडौँ । संघीय संसद्का दुवै सदन-प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि तय गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि पेस गरिएको विनियोजन विधेयकमाथि विभिन्न शीर्षकमाथि समूहीकृत छलफल सुरु हुँदैछ ।

संसद् सचिवालयका अनुसार वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका शीर्षकमाथि समूहीकृत छलफल हुने कार्यसूची छ । साथै, खर्च कटौतीका प्रस्तावहरू पनि प्रस्तुत गरिनेछ ।

यसैगरी, प्रतिनिधिसभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यक्रम रहेको छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै निरन्तर सदन अवरुद्ध गर्दै आएका छन् । उनीहरूले माग सम्बोधन नभएसम्म अवरोध जारी राख्ने चेतावनी दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन् । साथै, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ पेस गर्नेछिन् ।

त्यस्तै, उपप्रधानमन्त्री पौडेलले भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पनि प्रस्तुत गर्नेछन् ।

बैठकमा संविधानसभा सदस्य वीरेन्द्र जुहारचन र प्रतिनिधिसभाका पूर्वसदस्य ढुण्डिराज शास्त्रीको निधनमा शोक प्रस्ताव पनि प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !