रास्वपा र एसलाई जितजंगले भने: पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू
काठमाडाैँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले नैतिकता सिकाएको भन्दै टिप्पणी गरेका छन् ।
बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले एकीकृत समाजवादीका अध्यक्षमाथि अख्तियारमा मुद्दा चलिरहेको र रास्वपाका सभापति कारागारमा रहेको बताउँदै अहिले पनि संसदीय दल र पार्टीको नेतृत्व छोड्न नसकेको जिकिर गरेका हुन् ।
उनले रास्वपा र एकीकृत समाजवादीले काँग्रेसलाई नैतिकता सिकाउने भन्दै प्रश्न गर्दै यो कस्तो नैतिकताको कुरा हो भन्दै टिप्पणी गरे । बस्नेतले नैतिकता पहिले आफूले सिकेर अरूलाई सिकाउनुपर्ने बताए । उनले नैतिक चरित्र बिना देश नचल्ने बताउँदै नैतिक चरित्र पहिले आफ्नो राम्रो भएपछि मात्रै अरूलाई भन्न पाइने जिकिर गरे ।
“नैतिकताको कुरा गर्दा खेरी म रास्वपा र समाजवादी पार्टीलाई सोध्न चाहन्छु । नैतिकता तपाईंहरूमा लाग्छ कि लाग्दैन ? तपाईंको नेतालाई अख्तियारले एउटा मुद्दा लगाएको छ, एउटा पार्टी सभापति जेलमा हुनुहुन्छ । जेलमा जाने पार्टी सभापति र अख्तियारले मुद्दा लगाउने पार्टीका अध्यक्ष संसदीय दलको नेता नै बस्नुपर्ने अनि पार्टी सभापति छोड्न नहुने ? हामी नेपाली काँग्रेसलाई नैतिकता सिकाउने ? यस्तो कस्तो नैतिकताको कुरा हो ?,” उनले भने । नैतिक चरित्रको कुरा पहिले आफूले आफूलाई बुझ्नको लागि आग्रह गरे ।








