महिला सुरक्षा दवाब समूहको ३३औं वार्षिकोत्सव सम्पन्न, अग्रणी महिलालाई सम्मान
काठमाडौं । महिला सुरक्षा दवाब समूहको ३३औं स्थापना दिवस तथा सावित्री थापा अग्रणी महिला सम्मान कार्यक्रम हिजाे बबरमहलस्थित साफ फाल्चामा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष इरादा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्ष इरादा गौतमले अतिथिहरूलाई माला अर्पण गरी स्वागत गरेकी थिइन् भने उपाध्यक्ष कमला उप्रेतीले शब्दद्वारा स्वागत मन्तव्य दिएकी थिइन्। महिला आधारशिलाका छोरीहरूले आकर्षक नृत्य प्रस्तुत गरेर सांस्कृतिक रूपमा स्वागत गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा महिला सुरक्षा दवाब समूहका सल्लाहकार तथा एबीसी नेपालकी संस्थापक सदस्य दुर्गा घिमिरे, कानुनी सेवा परामर्श केन्द्र (ल्याक) तथा महिला सुरक्षा दवाब समूहको सञ्जाल सदस्य संस्था र सावित्री थापा अग्रणी महिला सम्मानद्वारा दुई जना अग्रणी महिलालाई सम्मान प्रदान गरिएको थियो। सावित्री थापा अग्रणी महिला सम्मान अन्तर्गत समाजसेविका सरस्वती श्रेष्ठ र दिलशोभा तुलाधरलाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो।
कार्यक्रममा बोल्ने वक्ताहरूले महिला अधिकार, समानता र सशक्तिकरणका सवालमा अझ सशक्त रूपमा अगाडि बढ्नुपर्ने सन्देश दिएका थिए। समाजमा सामाजिक र आर्थिक रुपान्तरण ल्याउन महिलाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिइयो।
उक्त कार्यक्रममा महिला सुरक्षा दवाब समूहका सचिवद्वय सीता ओझा र मिना स्वर्णकारले सञ्चालन गरेका थिए भने महासचिव बैजयन्ती कार्कीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
शुभकामना मन्तव्य दिने वक्ताहरूमा संस्थापक तथा पूर्व मन्त्री हिसिला यमी, महिला सुरक्षा दवाब समूहकी सह–संस्थापक सलोनी सिंह, योजना आयोगकी पूर्व सदस्य तथा सावित्री थापा सम्मान कोषकी संस्थापक प्रमिता खनाल, क्यान्सर सरभाइभर समूहकी अध्यक्ष प्रतिभा सुवेदी, समाजसेविका अनिता थपलिया, सम्मानित व्यक्तित्व दिलशोभा तुलाधर र कार्यक्रमकी प्रमुख अतिथि विद्या भट्टराई लगायतको उपस्थिति थियो।
कार्यक्रमको अन्त्यमा संस्थाकी अध्यक्ष इरादा गौतमले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन घोषणा गरेकी थिइन् ।
महिला सुरक्षा दवाब समूहले हरेक वर्ष सावित्री थापा अग्रणी महिला सम्मानमार्फत महिला सशक्तिकरणको क्षेत्रमा विशिष्ट योगदान गर्ने महिलाहरूलाई सम्मान गर्दै आएको छ ।








