अरुणिमा शैक्षिक प्रतिष्ठानद्वारा एसईई उत्तीर्ण १८९ विद्यार्थी सम्मानित

काठमाडौँ । मुलुककै प्रतिष्ठित शैक्षिक केन्द्रका रूपमा स्थापित काठमाडौँ बौद्धस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरूलाई एक भव्य समारोहका बिच सम्मान गरेको छ।
समारोहका प्रमुख अतिथि वरिष्ठ इन्जिनियर सुरेशकुमार पुडासैनीले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न संस्था सञ्चालक, शिक्षक–कर्मचारी, विद्यार्थी र अभिभावक सबैको विशेष योगदान रहने उल्लेख गरे। उनले विद्यार्थीहरूलाई भविष्यमा उपयुक्त विषय छनोट गरी अध्ययन गर्न सुझाव दिँदै शैक्षिक विकासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने धारणा व्यक्त गरे ।
कार्यक्रममा कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले परीक्षाफलको विश्लेषण गर्दै प्रतिष्ठानका समग्र शैक्षिक कार्यक्रमबारे जानकारी गराए । सोही अवसरमा प्रतिष्ठानका अध्यक्ष तथा समारोहका सभाध्यक्ष भीमानन्द ढुङ्गानाले गुणस्तरीय शिक्षाका सवालमा संस्था सधैं प्रतिबद्ध रहेको बताए ।
अरुणिमा कलेजका प्रमुख केशवप्रसाद जोशीले कक्षा ११ र १२ अध्ययनका लागि उपयुक्त विषय छनोट र विद्यालयको चयनमा विशेष ध्यान दिन विद्यार्थीहरूलाई सुझाव दिए ।
यस वर्ष अरुणिमा मा.वि. बौद्धबाट ११६ जना, नव अरुणिमा मा।वि। आरुबारीबाट ३७ जना, र अरुणिमा शिक्षा सदन मा.वि. महाङ्कालबाट ३६ जना गरी कुल १८९ जना एसईई उत्तीर्ण विद्यार्थीहरूलाई समारोहमा सम्मान गरिएको हो।
उच्चतम ग्रेड प्राप्त गर्ने विद्यार्थीहरू युनिशा चौलागाईं, स्मृति तिमिल्सिना (अरुणिमा मा.वि., बौद्ध), सभ्यता श्रेष्ठ (नव अरुणिमा मा.वि., आरुबारी) र प्रतिष्ठा कोइराला (अरुणिमा शिक्षा सदन मा.वि., महाङ्काल) लाई नगदसहित विशेष सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा अरुणिमा मा.वि. बौद्धका प्रिन्सिपल बुद्धिप्रसाद रेग्मी, नव अरुणिमा मा.वि. का अध्यक्ष गोपालप्रसाद बराल, अरुणिमा शिक्षा सदनका अध्यक्ष बटुप्रसाद न्यौपाने, तथा अरुणिमा अलुम्नाईका अध्यक्ष जितेन्द्र श्रेष्ठले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिंदै भविष्यमा अझ उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना व्यक्त गरे ।
विद्यार्थीहरूको तर्फबाट तीनवटै विद्यालयका उत्कृष्ट छात्राहरूले आफ्ना अनुभव साझा गर्दै सफलतामा साथ दिने शिक्षक, अभिभावक र साथीहरूप्रति आभार व्यक्त गरे। सोही समारोहमा पत्रकारितामा विशिष्ट योगदान पुर्याउँदै आएका पत्रकार तथा सर्जक निर्मल अर्याललाई समेत सम्मान गरिएको थियो।
करीब ६ सयभन्दा बढी अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा अतिथिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो