२० मंसिर २०८२, शनिबार

गुरु पूर्णिमाको अवसरमा श्री मिल्स विद्यालयका १३ पूर्वगुरु काठमाडौँमा सम्मानित

प्रकाशित मिति :  10 July, 2025 2:40 pm


काठमाडौँ। असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमाको अवसरमा श्री मिल्स माध्यमिक विद्यालय, रानी, विराटनगरका १३ जना पूर्वगुरुजनहरूलाई काठमाडौँमा एक भव्य समारोहबीच सम्मान गरिएको छ।

गुरु–शिष्य परम्पराको सम्मानस्वरूप हिन्दू संस्कृतिमा विशेष रूपमा मनाइने गुरु पूर्णिमाको दिनलाई ज्ञान, संस्कार र मानव मूल्यहरूको जग बसाल्ने गुरुहरूप्रति कृतज्ञता प्रकट गर्ने अवसरको रूपमा लिइन्छ। यही अवसरमा गुरुहरूको सम्मान गरिँदा शिष्य र गुरुबिचको सम्बन्ध अझ मजबुत हुने विश्वास गरिन्छ।

‘गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः‘मन्त्र उच्चारणका साथ सुरू गरिएको उक्त कार्यक्रम बिराटनगर मिल्स एरिया समाज काठमाडौँ (बिमिसका) को आयोजनामा सिनामंगलस्थित होटल रोयल एयरपोर्टमा सम्पन्न भएको हो।

बिमिसकाका अध्यक्ष रविन्द्रराज कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयमा लामो समय सेवा गरेका गुरुजनहरूलाई रुद्राक्षमाला, पुष्पगुच्छा र मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो।

सम्मानित गुरुहरूको सूचीमा रामेश्वर (राशी पाण्डे), उपेन्द्र सुवेदी, राजेन्द्र विरही, माधवप्रसाद अर्याल, गौरीकृष्ण श्रेष्ठ, कौशल्या थापा, चन्द्र गदाल, महेश चापागाईं, उर्मिला प्रधान, कमल दाहाल, उत्तमराज थापा, पार्थ सारथि सेनगुप्ता (मिट्ठु सर) र पञ्चलाल साह रहेका छन्।

कार्यक्रममा बिमिसकाका पदाधिकारीहरूले सम्मानित गुरुहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै गुरु, गुरु आमाहरूसँग पुनः भेटघाट र सम्मान गर्न पाउनु गौरवको क्षण भएको धारणा व्यक्त गरे।

गुरुहरू राजेन्द्र विरही, चन्द्र गदाल, उत्तमराज थापा र माधवप्रसाद अर्यालले आफूप्रतिको सम्मानप्रति आयोजक तथा सहभागीहरूप्रति आभार व्यक्त गर्दै शिक्षण यात्राको अविस्मरणीय पलहरू स्मरण गरेका थिए।

त्यस्तै कार्यक्रममा पूर्व विद्यार्थी ऋतुराज सापकोटाले वर्ष २०८२ मिल्स स्कूलको हीरक वर्ष (७५ वर्ष) भएकाले विद्यालयमा फाल्गुन ७ र ८ गते आयोजना हुने हीरक महोत्सव र पूर्व विद्यार्थी सम्मेलनमा देश र विदेशका विभिन्न क्षेत्रमा रहेका पूर्व विद्यार्थीहरूलाई सम्भव भए सम्म भौतिक रूपमा उपस्थित भई मिल्स स्कूल र मिल्स एरिया, बिराटनगर प्रतिको भावनात्मक सम्बन्धलाई थप मज़बूत बनाउन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !