बागमतीका मुख्यमन्त्रीले राजीनामा दिएका चार मन्त्रीलाई गरे बर्खास्त
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका नेपाली कांग्रेसका चारजना मन्त्रीलाई बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री लामाले कांग्रेस कोटाबाट नियुक्त भएका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठलाई बर्खास्त गरेका हुन् ।
चारै जना मन्त्रीले केही दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेपछि आन्तरिक असमझदारी बढ्दै गएको थियो ।
ती सबैले पार्टी नेतृत्वको सल्लाहमा राजीनामा दिएका थिए तर मुख्यमन्त्री लामाले औपचारिक राजीनामा स्वीकृत नगरी उल्टै बर्खास्त गर्ने निर्णय गरेका हुन् ।
यसबीच, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलभित्र पनि नेतृत्व परिवर्तनको प्रयास तीव्र बनेको छ । ३७ जना सांसद रहेको कांग्रेस संसदीय दलमा २४ जना सांसद नेता परिवर्तनको पक्षमा उभिएको बताइएको छ । यद्यपि, संसदीय दलको नेताबाट लामालाई हटाउने प्रस्तावमा २१ जनाले मात्र हस्ताक्षर गरेको पत्र सार्वजनिक भएको छ ।
कांग्रेस सांसदहरूले उक्त प्रस्ताव मुख्यमन्त्री लामालाई ह्वाट्स एपमार्फत समेत पठाएका छन् । दलभित्र बढ्दो असन्तुष्टि र नेतृवविरुद्धको गतिविधिले बागमती प्रदेश सरकार थप अस्थिरतातर्फ उन्मुख भएको देखिन्छ ।
अब दलको नेतृत्व परिवर्तनको प्रक्रिया कसरी अघि बढ्छ र त्यसको असर प्रदेश सरकारको भविष्यमा कस्तो पर्छ भन्ने चासो बढ्दो छ ।








