गौर नरसंहार पुनःअनुसन्धानमा सहयोग गर्न तयार-जसपा अध्यक्ष यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले १८ वर्षअघि भएको गौर नरसंहार घटनाको पुनः अनुसन्धानमा आफू निष्पक्ष सहयोग गर्न तयार रहेको बताएका छन् ।
सर्वोच्च अदालतले भदौ २ गते (सोमबार) गौर नरसंहारको छानबिन अघि बढाउन आदेश दिएपछि प्रतिक्रिया दिँदै अध्यक्ष यादवले अदालतको आदेशलाई सम्मान गर्ने बताएका हुन् । उनले भने, “सरकारले अनुसन्धान अघि बढाए हामी पूर्ण सहयोग गर्छौं, हामीलाई आत्तिनुपर्ने कुनै जरुरी छैन ।”
राजनीतिक प्रतिशोधको आशंका
यादवले घटना भएको समयमा सरकारले अनुसन्धान गरेर तथ्य बाहिर ल्याइसकेको दाबी गरे । उनले न्यायिक छानबिन आयोग, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रसंघीय मानव अधिकार आयोगले समेत यस विषयमा प्रतिवेदन ल्याइसकेको उल्लेख गर्दै करिब १९ वर्षपछि पुनः मुद्दा अघि बढाउनु राजनीतिक प्रतिशोध हुन सक्ने आशंका व्यक्त गरे । “अहिलेसम्म फैसलाको पूर्णपाठ आएको छैन, त्यसैले धेरै बोल्नु हतार हुन्छ,” उनले थपे ।
राजनीतिक समाधान आवश्यक
जसपा अध्यक्ष यादवले गौर नरसंहारलाई राजनीतिक विषयका रूपमा व्याख्या गर्दै यसको समाधान पनि राजनीतिक शक्तिहरुले नै खोज्नुपर्ने बताए । “हामी जनताको अधिकारका लागि लड्ने मानिस हौं, त्यसैले डराउनुपर्ने स्थिति छैन,” यादवको भनाइ छ ।
घटनाको पृष्ठभूमि
२०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राईसमिल चौरमा भएको झडपमा माओवादीका २७ कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । सो दिन मधेसी जनअधिकार फोरम र माओवादीले एउटै स्थानमा कार्यक्रम राख्दा हिंसात्मक झडप भएको थियो ।
घटनामा मारिएका तथा घाइतेका परिवारले वर्षौंसम्म न्याय नपाएको भन्दै आवाज उठाउँदै आएका छन् । घाइते त्रिभुवन साहसहितले २०८० साल जेठ २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसपछि सर्वोच्चले प्रहरी मुख्यालय, गृह मन्त्रालयलगायतका विपक्षी निकायलाई अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।








