जिल्ला प्रहरी परिसर काठमाडौँमा अधिकारी आएसँगै ५ हजार ५८५ फरार पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले फरार प्रतिवादी पक्राउमा गर्ने अभियानले तीव्रता पाएको छ । प्रहरी प्रमुख विश्व अधिकारीले पदभार सम्हालेसँगै फरार प्रतिवादीलाई नियन्त्रणमा लिने कार्यले तीव्रता पाएको हो ।
पछिल्लो समयले काठमाडौँमा नाम कहलिएका चर्चित गुण्डा तथा डनहरूलाई नियन्त्रणमा उनले लिएका छन् । चक्रे मिलन गुरुङ, ठमेलबाट ओम्निया क्लबमा झगडा गर्ने सानुकाजी गुरुङ र राजु गोर्खाली लगायतका गुण्डाहरू पक्राउ परिसकेका छन् । काठमाडौँ परिसरले आर्थिक वर्षमा ५ हजार ५८५ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिइसकेको छ ।
यस उपलब्धिमा काठमाडौँ प्रहरी परिसरको योगदान अग्रपङ्क्तिमा रहेको छ। गत वर्ष १,०६७ फरार पक्राउ गरेको काठमाडौँ परिसरले यस वर्ष ४२१ प्रतिशतले वृद्धि गर्दै ५,५८५ जना पक्राउ गरेको हो। आर्थिक वर्ष २०८०/८१ मा १४,७६४ जना फरार अपराधी पक्राउ परेका थिए । सोही अवधिमा रु २ अर्ब ८१ करोड ६५ लाख ९४ हजार ९९५ बराबरको जरिवाना असुल गरेको थियो । यस वर्ष नेपाल प्रहरीले फरार अभियुक्त पक्राउको संख्या ६५ प्रतिशतले बढाउँदै २४,३८२ पुर्याएको छ ।
प्रहरी संगठनको वार्षिक कार्य सम्पादन सम्झौता अनुसार फैसला कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखिएकाले परिसरले प्रतिवादीलाई नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएको हो । परिसर प्रमुख अधिकारीले रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याएका थिए ।
रणनीति बनाएर ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ गर्न सम्भव भएको उनले धारणा व्यक्त गरे । राजधानीजस्तो संवेदनशील क्षेत्रमा कडा सुरक्षा र कानूनी कार्यान्वयनले सर्वसाधारणमा प्रहरीप्रति थप विश्वास जागेको उनले बताए । कानूनभन्दा माथि कोही छैन भन्ने सन्देशलाई बलियो बनाउन प्रहरीले सहयोग गरिरहेको उनको भनाइ छ । “हजारौं फरार प्रतिवादी पक्राउले प्रहरी संगठनप्रति जनविश्वास बढाएको तथा दण्डहीनताको अन्त्यतर्फ प्रहरीले साथ दिएको छ,”उनले भने ।








