१९ मंसिर २०८२, शुक्रबार

गौर घटनामा प्रभु साहमाथि कडा अनुसन्धान र कारबाही गर्न एमाले महासचिव पोखरेलको माग

प्रकाशित मिति :  22 August, 2025 5:00 pm


प्रेमचन्द्र झा,
महोत्तरी । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गौर घटनामा हिंसा भडकाउने भूमिकामा संलग्न तत्कालीन माओवादी नेता प्रभु साहमाथि कडा अनुसन्धान र कारबाही गर्नुपर्ने माग गरेका छन् ।

शुक्रबार बर्दिवास, महोत्तरीमा एमाले मधेस प्रदेश कमिटीले आयोजना गरेको विधान संशोधन सुझाव संकलन कार्यक्रममा बोल्दै पोखरेलले दोषीमाथि अनुसन्धान हुनु न्यायिक प्रक्रिया भएको प्रष्ट पारे ।

उनले भने, “सर्वोच्च अदालतको आदेशपछि अनुसन्धान अघि बढ्नु स्वाभाविक हो। अदालतको आदेशसँग एमालेको कुनै सम्बन्ध छैन, हामी त्यो बेला सरकारमै पनि थिएनौं । दोषी को हो भनेर छुट्याउनु अनुसन्धानको विषय हो, तर जसले हिंसा भड्काउने भूमिका खेले, उनीमाथि प्रश्न उठ्नै पर्छ ।”

उनले गौर घटनाको समयमा एमाले सरकारमा नरहेको र घटनामा पार्टीको कुनै संलग्नता नभएको दाबी गर्दै, माओवादी र मधेसी फोरमले आ–आफ्ना कार्यक्रम आयोजना गर्ने क्रममा माओवादी नेताहरूले उत्तेजना फैलाएर हिंसा बढाएको आरोप लगाए ।

महासचिव पोखरेलले भने, “प्रभु साहले यदि भिड व्यवस्थापनमा जिम्मेवार भूमिका खेलेका भए, त्यो दिन गौरमा हिंसा हुने थिएन। तर उनले उल्टो कार्यकर्तालाई भिडमा पठाएर उत्तेजना फैलाए। यस्तो कदम कुनै पनि जिम्मेवार नेताको हुन सक्दैन।”

उनले समाजलाई अस्थिर बनाउने, हिंसा भड्काउने र स्वार्थका लागि जनतालाई द्वन्द्वमा होमाउने राजनीति अनुचित भएको उल्लेख गर्दै एमाले भने शान्ति र संवादकै बाटोमा अडिग रहेको दाबी गरे ।

“हामी प्रतिशोधको राजनीति गर्दैनौं। तर जसले समाजमा हिंसा ल्याउने प्रयास गर्छ, उसमाथि अनुसन्धान हुनु आवश्यक छ,” पोखरेलले थपे ।

कार्यक्रममा एमाले मधेस प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता रहेको थियो भने केन्द्रीय सचिव रघुवीर महासेठ, पोलिटब्यूरो सदस्य सुमन प्याकुरेल, प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, रौतहट इन्चार्ज अजयकुमार गुप्ता, केन्द्रीय सदस्य उद्वव पोखरेल, कुन्दन कुशवाहा, रेखा झालगायत नेताहरूको विशेष उपस्थिति थियो । सो अवसरमा एमाले मधेस प्रदेशले विधान संशोधन सम्बन्धी सुझाव सर्वसम्मतिले पारित गरेको जानकारी प्रदेश सचिव मनोज पौडेलले दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !