१९ मंसिर २०८२, शुक्रबार

लिपुलेकबारे प्रधानमन्त्रीले चीन र भारत भ्रमणमा कुरा गर्नुहुन्छ-लेखराज भट्ट

प्रकाशित मिति :  23 August, 2025 4:24 pm


धनगढी । नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले नेपाली भूमि लिपुलेकबारे भारत र चीनबीच भएको दुई पक्षीय सम्झौतालाई गम्भीर र आपत्तिजनक भन्दै खुला विरोध गर्नुपर्ने बताएका छन् ।

शनिबार प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा आयोजना गरेको ‘जनसंगठनसँग प्रेस चौतारी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व उद्योगमन्त्री समेत रहेका भट्टले दुई छिमेकी शक्ति राष्ट्रले शान्तिप्रिय नेपालजस्तो मुलुकको भूमिबारे एकआपसमा सम्झौता गर्नु नेपालको राष्ट्रियता र सार्वभौमसत्तामाथि नाङ्गो हस्तक्षेप भएको टिप्पणी गरे ।

भट्टले लिपुलेक नेपाली भूमि भएको कुरा विभिन्न तथ्य–प्रमाणले प्रष्ट हुने भन्दै भने, “लिपुलेकबारे भारत र चीनले दुई पक्षीय सम्झौता गरेर नेपालको राष्ट्रियतामाथि गम्भीर प्रहार गरेका छन् । यसको हामी सबैले खुलेर विरोध गर्नुपर्छ ।”

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण र त्यसपछिको भारत भ्रमणका क्रममा दुवै मुलुकसँग लिपुलेकबारे प्रष्ट कुरा गर्ने बताएका जानकारी पनि दिए ।

प्रधानमन्त्री ओली आगामी भदौ १४ मा शाङ्घाइ सहयोग संगठन (एससीओ) सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गर्दैछन् भने त्यसपछि भारत भ्रमणमा जाने कार्यसूची छ ।

सचिव भट्टले २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा पनि लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सम्झौता भएको स्मरण गर्दै त्यतिबेला आफूले नै पहिलोपटक विरोध गरेको दाबी गरे ।

उनले अहिले पनि राष्ट्रियतामाथि भएको हस्तक्षेपका विरुद्ध सबै राजनीतिक दल, सरोकारवाला र नागरिक समाज एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।

उनका अनुसार लिपुलेक केवल भू–भाग मात्र नभई सुदूरपश्चिमवासीको भावना र पहिचानसँग गहिरो रूपमा जोडिएको भूमि हो । “यो भूमिसँग हाम्रो मनोवैज्ञानिक सम्बन्ध छ, त्यसैले हामीले आ–आफ्नो ठाउँबाट गम्भीर रूपमा यो विषय उठाउनैपर्छ,” उनले भने ।

कार्यक्रम प्रेस चौतारी कैलालीका अध्यक्ष जनक विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न जनसंगठनका पदाधिकारी, पार्टीका प्रदेश तथा जिल्लास्तरीय प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !