योग्य र सक्षम व्यक्तिलाई उमेरको हद लगाएर बन्धेज गर्न मिल्दैन-भानुभक्त ढकाल
काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले योग्य र सक्षम व्यक्तिलाई उमेरको हद राखेर नेतृत्वमा रोक्नु नहुने बताएका छन् ।
अनेरास्ववियु महिला विभागले आयोजना गरेको तिज विशेष कार्यक्रममा बोल्दै ढकालले पार्टीको दोस्रो विधान महाधिवेशनले यस विषयलाई टुंगो लगाउने जानकारी दिए ।
“साउन ६ गते सकिएको केन्द्रीय कमिटी बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाएको छ । यी दुवै विषयलाई विधान महाधिवेशनले अनुमोदन गर्नेछ,” उनले भने ।
उनका अनुसार देशको आवश्यकता, पार्टीको आवश्यकता र व्यक्तिको क्षमतालाई आधार मानेर नेतृत्वमा आउन पाउनुपर्छ, उमेरको बन्धेजले रोक्नु हुँदैन ।
“७० वर्षे उमेर हद हटाउँदा त्यसभन्दा कम उमेर समूहले प्रतिस्पर्धा गर्न पाउँदैन भन्ने होइन । आत्मविश्वास र जनमत छ भन्ने लाग्छ भने सबैले प्रतिस्पर्धा गर्न सक्नेछन्,” ढकालले स्पष्ट पारे ।
कार्यक्रममा उनले विगतमा माओवादीसँग पार्टी एकता गरेर नेकपा बनाउँदा वा त्यसपछि पनि एमाले र अध्यक्ष केपी शर्मा ओलीबिनाको नेपाल बनाउन चाहने केही धारणा देखिएको तर त्यो गलत थियो भन्ने स्मरण गरे ।
“त्यस्तो धारणा राख्नेहरू व्यक्तिगत स्वार्थमा केन्द्रित थिए, पार्टीको हितमा होइन । उनीहरूको चाहना पूरा भएको छैन र हुने पनि छैन,” उनले टिप्पणी गरे ।
ढकालले अखिल (अनेरास्ववियु) सम्बन्धी विषयमा संगठन स्वतन्त्र रहेको बताए । गण्डकीसहित केही स्थानमा विवाद देखिएको भए पनि असन्तुष्टहरूसँग संवाद भइरहेको जानकारी उनले दिए । अखिलमा ३२ वर्षे उमेर हद राखिएको विषयमा भने उनले युवाको नेतृत्व विकासका लागि यस्तो व्यवस्था गरिएको बताए ।
“संगठनको हित हुने कुरा तपाईंहरूले छलफल गर्नुपर्छ । कतिपय सन्दर्भमा तपाईंहरूले प्रस्तुत गरेको विचार नै अधिक सान्दर्भिक हुन्छ । यस्ता जायज कुरामा पार्टीले हस्तक्षेप गर्दैन,” ढकालले जोड दिए ।








