१९ मंसिर २०८२, शुक्रबार

विपिन जोशीको सकुशल उद्धारका लागि सरकारले कुनै कसर बाँकी राखेको छैन-प्रधानमन्त्री ओली

प्रकाशित मिति :  23 August, 2025 4:35 pm


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास आतङ्ककारी समूहद्वारा अपहरणमा परेका तनहुँका विपिन जोशीको सकुशल उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै विपिनकी आमा पद्मा र बहिनी पुष्पासँग भेट भएको जानकारी गराएका छन् । “विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट फर्केपछि उहाँहरूसँग भेट भयो,” ओलीले लेखेका छन् ।

उनका अनुसार विपिनको सकुशल उद्धार र स्वदेश फर्काइका लागि सरकार सक्रिय रूपमा लागेको छ । “विपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन,” प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीसँग भेट गर्न आएका विपिनकी आमा र बहिनी इजरायलमा नेपाली दूतावासको समन्वयमा त्यहाँका राष्ट्रपति र संसद्का अध्यक्षसँग भेटेर फर्किएका हुन् ।

तनहुँका २२ वर्षिय विपिन जोशी उच्च शिक्षा र रोजगारीका लागि इजरायल गएका थिए । गत वर्ष अक्टोबरमा हमास आतङ्ककारी समूहले इजरायलमा गरेको आक्रमणमा उनी अपहरणमा परेका थिए ।

सो आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने केही घाइते भएका थिए । त्यसै घटनामा विपिनलाई हमासले अपहरण गरेर लगेको पुष्टि भएको हो ।

विपिनको उद्धारका लागि नेपाल सरकारले निरन्तर पहल गर्दै आएको र यसलाई प्राथमिकताका साथ अघि बढाइरहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस !