संविधान असफल बनाउन कसैलाई छुट छैन-गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउन कसैलाई पनि छुट नभएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको संविधान असफल भयो भने देशमा अकल्पनिय द्वन्द्व सुरु हुने चेतावनी दिए ।
संविधान निर्माणका लागि २० वर्ष लागेको स्मरण गर्दै उनले संविधान असफल भए अर्को २० वर्षमा पनि नयाँ संविधान बनाउन नसक्ने दाबी गरे ।
उनले भने, “एउटा संविधान निर्माण गर्नै २० वर्ष लाग्दो रहेछ । अहिलेको संविधान असफल भयो भने देशमा यस्तो द्वन्द्व सुरु हुन्छ जसले अर्को २० वर्षसम्म पनि संविधान बनाउन सकिने अवस्था रहँदैन ।”
गृहमन्त्री लेखकका अनुसार अहिले द्वन्द्व अधिकार बाँडफाँड र प्राकृतिक स्रोतका कारण स्थानीय तहबीच भइरहे पनि संविधान नै असफल भयो भने त्यसले अकल्पनिय द्वन्द्व निम्त्याउनेछ ।
संविधानको रक्षा, सुदृढीकरण र समयसापेक्ष संशोधन आजको आवश्यकता भएको उनको भनाइ छ । समय र समाजको विकाससँगै संविधानलाई पनि परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले काँग्रेस र एमालेले सरकार गठनको क्रममा संविधान संशोधनबारे सहमति गरेको स्मरण गराए ।
तर सरकार बनेको एक वर्ष बितिसक्दा पनि संविधान संशोधनको प्रक्रिया अघि बढ्न नसकेको उनले स्वीकार गरे । अहिलेको संविधानमा कतिपयले प्रश्न उठाउनु जायज रहेको स्वीकार गर्दै लेखकले कतिपय विषय समेट्ने प्रयास गर्दा पनि त्यसबेला सफल नभएको बताए ।








