१९ मंसिर २०८२, शुक्रबार

अशोक राई नेतृत्वको जसपाले दुई मन्त्री फिर्ता बोलाउँदै : नयाँ दुईलाई पठाउने तयारी

प्रकाशित मिति :  24 August, 2025 2:33 pm


काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

पार्टीको यसअघि बसेको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका उपाध्यक्ष परशुराम बस्नेतका अनुसार सो निर्णयबारे प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइसकिएको छ ।

निर्णयअनुसार हाल सरकारमा रहेका मन्त्री प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाइनेछ भने डा. वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाइनेछ ।

बस्नेतले भने, “सरकारमा हाम्रो पार्टीबाट रहेका दुवै जना मन्त्रीले भदौ ११ गतेभित्र राजीनामा दिनुहुन्छ, त्यसपछि नयाँ मन्त्री सरकारमा सहभागी हुनुहुनेछ ।”

जसपाले प्रदीप यादव र नवलकिशोर साहलाई एक वर्षका लागि मन्त्रीमा पठाएको थियो । उनीहरू एक वर्षभन्दा बढी समयसम्म पदमा बसेपछि अब फिर्ता बोलाउने निर्णय गरिएको हो ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर जसपा गठन भएपछि सरकारमा जाने बेला रञ्जु झाको नाम विना विभागीय मन्त्रीका लागि सिफारिस भए पनि उनले तत्काल मन्त्रालय नलिएर एक वर्ष कुर्ने बताएकी थिइन् । यस्तै, यसअघि जसपा नेपाल सरकारमा रहेको बेला डा. वीरेन्द्र महतो वनमन्त्रीसमेत भइसकेका थिए ।



प्रतिक्रिया दिनुहोस !