१९ मंसिर २०८२, शुक्रबार
राजनीति

प्रचण्ड–विप्लव भेट : एकताको सम्भावना र नयाँ केन्द्रको संकेत

प्रकाशित मिति :  25 August, 2025 12:25 pm


काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच ललितपुरको हरिसिद्धीमा आइतबार बिहान करिब ५० मिनेट लामो भेटवार्ता भयो । प्रचण्ड आफै विप्लवलाई भेट्न विप्लव निवास पुगेका थिए ।

विप्लव निवास पुग्दा मूल ढोकामै महासचिव विप्लव स्वयंले प्रचण्डलाई स्वागत गरे । नेता–कार्यकर्ताहरू लामबद्ध भएर स्वागतमा उभिएका थिए । त्यसपछि विप्लवले आफ्नै कार्यकक्षमा लगेर आफू बस्ने सोफामा प्रचण्डलाई बसाएका थिए । भेटवार्तापछि प्रचण्डले नेकपाले गरेको धान खेती अवलोकन गर्दै उत्पादनमुखी अभ्यासको प्रशंसा पनि गरे ।

प्रचण्डको पहलमा भेट

यसअघि प्रायः विप्लव नै प्रचण्ड निवास पुगेर भेटघाट गर्ने गर्थे तर यसपटक भने पहल प्रचण्डले गरेका हुन् । बिहानै उनले प्रमुख स्वकीय सचिव गोविन्द आचार्यलाई विप्लवलाई फोन गरेर समय मिलाउन निर्देशन दिएका थिए । प्रचण्डकै इच्छाअनुसार भएको यो भेटलाई विशेष मानिएको छ ।

आचार्यका अनुसार भेटमा देशको समसामयिक राजनीतिक अवस्था, आगामी चुनावी रणनीति र पार्टी एकताबारे छलफल भयो । माओवादी केन्द्रको स्थायी समिति बैठकले हालै विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरिसकेको छ । यही सन्दर्भमा प्रचण्डले भेटलाई निरन्तरता दिएका हुन् ।

पार्टी एकताको बहस

माओवादी केन्द्रको निर्णयपछि अब नेकपाको आगामी केन्द्रीय कमिटी बैठक (भदौ २२ गतेदेखि) लाई विशेष महत्वका साथ हेरिएको छ । प्रचण्ड–विप्लव भेटलाई यही बैठकतर्फ संकेत गर्ने कदम मानिएको छ ।

स्रोतहरूका अनुसार छलफलमा पार्टी एकताले प्राथमिकता पाएको छ तर एकतापछि कार्यकारी जिम्मेवारी कसरी बाँडफाँट गर्ने भन्नेमा दुवै नेताबीच अझै स्पष्टता छैन । प्रचण्डले कार्यकारी जिम्मा दिन सक्ने संकेत गरेका छन् तर महासचिव विप्लव भने माओवादी केन्द्रभित्रकै गुटबन्दीले काम गर्न गाह्रो हुने आशंका व्यक्त गर्दै आएका छन् ।

विप्लवले आफ्ना निकट नेताहरूसँग कुरा गर्दै भन्दछन्, “माओवादी केन्द्रभित्र नै ४ वटा गुट छन्, हामी गएर पाँचौं गुट किन बनाउने ?”

नयाँ केन्द्रको सम्भावना

यद्यपि, एकताको विकल्प मात्र विप्लवका लागि खुला छैन । दोस्रो तहका नेताहरूसँगको भेटघाटमा उनले ‘नयाँ केन्द्र’ बनाउने विचार पनि राखेका छन् ।

विप्लवले हालसालै माओवादी केन्द्रका नेता जनार्दन शर्मा, वर्षमान पुन, नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग छलफल गरेका छन् । उनी नजिकका स्रोतहरूका भनाइमा, विप्लवले यसबेला दुई विकल्पमा रणनीति बनाइरहेका छन् –माओवादी केन्द्रसँग एकता गर्ने, नयाँ शक्ति केन्द्र निर्माण गर्ने।

उनले आफ्ना सहकर्मी नेताहरूसँग भन्दै आएका छन्, “हामीले पार्टी एकता गरे पनि अहिलेका बुढा नेताले छोड्ने होइनन्, बरु तपाईं हामी मिलेर आँटौं न त ।”

विगतका घटनाको सम्झना

विप्लवले यतिबेला भेटघाटमा व्यक्तिगत घटनाहरू पनि स्मरण गराइरहेका छन् । केही समयअघि भएको भेटमा वर्षमान पुनले २०७४ सालको चुनावका बेला रोल्पामा आफूमाथि भएको आक्रमणबारे गुनासो गरेका थिए ।

त्यसमा विप्लवले हाँस्दै जवाफ दिएका थिए, “तपाईंलाई मार्ने चाहना भएको भए कुनै आइतबार पर्खनु पर्दैन थियो । त्यो तपाईंलाई लक्षित गरेको भन्दा पनि सत्ताको प्रवृत्तिलाई लक्षित गरेको थियो ।” यसरी अतीतका कटु अनुभवहरूलाई हल्का बनाउँदै विप्लवले पुनलाई नयाँ केन्द्रको प्रस्ताव पनि गरेका थिए ।

आन्तरिक दबाब र नेतृत्वको चुनौती

प्रचण्ड र विप्लवबीचको संवादलाई थप चाखलाग्दो बनाउने अर्को पाटो भने माओवादी केन्द्रकै आन्तरिक राजनीति हो । हालैका स्थायी समिति बैठकपछि नेता जनार्दन शर्मा खुलेर प्रचण्डविरुद्ध उत्रिएका छन् । “जनार्दन ‘कस्सिए’पछि प्रचण्ड अझ सक्रिय भएका छन्” भन्ने टिप्पणी पार्टीभित्र सुनिन्छ ।

यस्तो अवस्थामा विप्लवसँगको एकता वा सहकार्य प्रचण्डका लागि रणनीतिक अवसर बनेको छ तर विप्लव भने माओवादी केन्द्रभित्रको गुटबन्दीले आफूलाई ‘पाँचौं गुट’ बनाउन नचाहेको संकेत दिइरहेका छन् ।

हरिसिद्धीको भेटलाई औपचारिक भन्दा बढी राजनीतिक सन्देशसहितको भेटका रूपमा हेरिएको छ । करिब एक घण्टे वार्तामा देशको वर्तमान राजनीतिक दिशाबारे दुवै नेताले रणनीतिक संवाद गरेका छन् ।

अब प्रश्न के हो भने, प्रचण्ड र विप्लवबीचको छलफल एकतामा टुंगिन्छ, कि नयाँ ‘केन्द्र’ निर्माणतर्फ मोडिन्छ ? नेपालको वाम राजनीतिमा यो भेट एउटा निर्णायक अध्यायको सुरुवात पनि हुन सक्छ, वा अर्को विभाजनको संकेत पनि ।



प्रतिक्रिया दिनुहोस !