१९ मंसिर २०८२, शुक्रबार

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा आज मनोनयन दर्ता

प्रकाशित मिति :  26 August, 2025 10:35 am


काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा आज (मङ्गलबार) मनोनयन दर्ता गर्दैछ ।

सचिवालयका सचिव हर्कराज राईले सोमबार कार्यतालिका सार्वजनिक गर्दै दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्न सकिने जानकारी दिएका हुन् ।

कार्यतालिकाअनुसार समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अर्को एक सदस्यको समर्थनसहित दर्ता गर्न सकिने छ ।

मनोनयन बन्द भएपछि सवा ४ बजे उम्मेदवारहरूको सूची प्रकाशन गर्ने र बुधबार दिउँसो ३ बजे समिति बैठक बसेर सभापति निर्वाचन गर्ने तय गरिएको छ।

यो पद समितिका तत्कालीन सभापति रामहरि खतिवडाले साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा विवाद भएपछि नैतिकताका आधारमा दिएको राजीनामापछि रिक्त भएको हो ।

संसद् नियमावलीअनुसार सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने प्रावधान भएकाले बुधबार निर्वाचन गर्न लागिएको हो ।

दलगत भागबण्डाअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पद नेपाली कांग्रेसको भागमा परेको छ। तर कांग्रेसले उम्मेदवार अहिलेसम्म टुंग्याउन सकेको छैन ।

यसका लागि मंगलबार बिहान ११ बजे शीर्ष नेताहरूको बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !