१९ मंसिर २०८२, शुक्रबार

कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने

प्रकाशित मिति :  26 August, 2025 2:06 pm


काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदका लागि सांसद ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आज बिहान बसेको शीर्ष नेताको बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अन्नपूर्णसँग कुरा गर्दै न्यौपानेलाई उम्मेदवार बनाउने औपचारिक निर्णय भएको जानकारी दिएका छन्।

उनले भने, “हाम्रो पार्टीले माननीय ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।” न्यौपाने यसअघि संसदीय सुनुवाई समितिकी सभापति रहेकी छिन्।

यसअघि सो समितिको सभापतिमा रहेका कांग्रेस सांसद रामहरी खतिवडा संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा त्रुटि भएको भन्दै विवादित बनेका थिए ।

त्यसलगत्तै गठित समितिले उनलाई नैतिक जिम्मेवार ठहर गरेपछि खतिवडाले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका थिए। दलीय भागबण्डाअनुसार कांग्रेसले समितिको नेतृत्व पाएको थियो र त्यसैअनुसार खतिवडा सभापति बनेका थिए ।

यसपटक पनि कांग्रेस र एमालेबीचको सहमति भएकाले समितिको सभापति पदमा अन्य दलको दाबी छैन । संसद सचिवालयका सचिव हर्कराज राईले सोमबार जारी गरेको कार्यतालिकाअनुसार सभापतिको मनोनयन दिउँसो १ बजेदेखि ४ बजेसम्म दर्ता गर्न सकिनेछ। मनोनयन दर्ताका लागि समितिका कुनै एक सदस्यले प्रस्ताव राख्नुपर्छ भने अर्को सदस्यले समर्थन गर्नुपर्ने व्यवस्था छ।

कार्यतालिकाअनुसार सवा ४ बजे उम्मेदवारको सूची प्रकाशित गरिने र बुधबार दिउँसो ३ बजे समितिको सभाकक्षमा निर्वाचन गरिने छ ।

संघीय संसद नियमावलीअनुसार कुनै पनि समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने भएकाले बुधबार निर्वाचन तोकिएको हो ।



प्रतिक्रिया दिनुहोस !