जनयुद्ध र चेसबीच गहिरो सम्बन्ध छ-अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका क्रममा चेस खेलको विशेष महत्त्व रहेको बताएका छन् ।
अखिल नेपाल चेस सङ्घ र नेसनल स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सोमबारदेखि सुरु भएको भक्त राना स्मृति चेस प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष दाहालले चेसलाई रणमैदानसँग तुलना गर्दै जनयुद्धमा यसले विशेष भूमिका खेलेको स्मरण गरेका छन् ।
“दश वर्षे जनयुद्ध र चेसबीच गहिरो सम्बन्ध छ । यो खेलले बौद्धिक विकास मात्र होइन, मनोविज्ञानको उपचारमा पनि योगदान दिएको थियो । रणमैदानमा चलाइने चाल जस्तै चेसमा पनि रणनीतिक चाल चलिन्थ्यो”, उनले भने ।
अध्यक्ष दाहालले चेस प्रतियोगिताले मुलुकलाई राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गर्ने उल्लेख गर्दै खेलाडीहरूको उत्साहपूर्ण सहभागिता प्रशंसनीय रहेको बताए । साथै, प्रतियोगिता अवधिभर सम्भावित समस्या भएमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
भक्त रानालाई क्रान्तिकारी, इमानदार र निष्ठावान योद्धाका रूपमा स्मरण गर्दै अध्यक्ष दाहालले उहाँको बलिदान सदैव नेपाली जनताको स्मृतिमा रहिरहने बताए ।
“भक्त राना युद्धमा घाइते हुनुभयो, उपचारका क्रममा वीर अस्पतालमा उहाँको निधन भयो । हामीले उहाँलाई बचाउन सकेनौँ । उहाँको स्मृति हामी सबैको मनमा ताजा छ,” दाहालले स्मरण गरे ।
प्रतियोगिताको पूर्ण सफलताको शुभकामना दिँदै अध्यक्ष दाहालले यसले नयाँ उत्साह र आत्मविश्वास जगाउने र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा नेपालको पहिचान स्थापित गर्न योगदान गर्ने विश्वास व्यक्त गरे । साथै, प्रतियोगिताबाट सक्षम खेलाडीको उत्पादन हुने आशा समेत व्यक्त गरे ।








