आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक : भूमि विधेयक पारित हुने
काठमाडौँ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा आज दिउँसो १ः०० बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । आजको बैठकमा विभिन्न विधेयक टेबुल गर्ने, छलफल गर्ने तथा पारित गर्ने कार्यसूची समावेश गरिएको छ ।
बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यक्रम रहेको छ ।
साथै, सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समितिमा सांसदहरूको नाम हेरफेर गरिएकोबारे बैठकलाई जानकारी दिनेछन्।
त्यसैगरी भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलाराम अधिकारीले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ माथि छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने सम्भावना रहेको कार्यसूचीमा उल्लेख गरिएको छ ।








