गोली खाएर बाँचेका चन्द्रकुवेर खापुङ : अब प्रहरी महानिरीक्षक
काठमाडौँ । जीवनको प्रारम्भमै गोली खान पुगेको एउटा घटनाले उनलाई ‘भाग्यमानी’ मात्र होइन, ‘संघर्षको प्रतीक’ पनि बनाएको छ। त्यही घटनाबाट निरन्तरता पाएका उनले अन्ततः नेपाल प्रहरीको सर्वोच्च पद-महानिरीक्षक (आइजिपी) मा पुग्ने अवसर पाए।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी चन्द्रकुवेर खापुङलाई भदौ १९ गतेदेखि नेपाल प्रहरीको ३२औं आइजिपी नियुक्त गरेको हो । यससँगै उनले दुई महिना नौ दिनसम्म ७९ हजारभन्दा बढी प्रहरी बलको कमान्ड गर्ने जिम्मेवारी पाउनेछन्।
उनको आइजिपी बन्नुमा संयोग पनि कम छैन । संसद्मा प्रहरी ऐन पारित भइसकेको भए अहिलेको नेतृत्वलाई नै निरन्तरता मिल्ने सम्भावना थियो तर समितिमा उत्पन्न राजनीतिक उल्झनले ऐन अघि बढ्न सकेन । यसबीचमा अवकाश हुँदै गरेका सहकर्मीहरू एक–एक गर्दै बाहिरिँदा खापुङ आपोआपै सर्वोच्च पदको दावेदार बने ।
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा जन्मेका खापुङले प्रहरी सेवामा प्रवेश गर्नसमेत संघर्ष गर्नु परेको थियो । २०५१ सालको प्रहरी निरीक्षकको विज्ञापनबाट सहभागी भए पनि नियुक्ति ढिलो भयो ।
समूह ‘क’ मा परेकाहरूले २०५१ चैतमै नियुक्ति पाए, उनी भने अदालतको आदेशपछि मात्रै २०५२ कात्तिक २७ गते प्रहरी सेवामा प्रवेश गर्न सके । जीवनमा आएको यही ढिलाइले आजको दिन तयार गरेकोजस्तै देखिन्छ।
प्रहरी सेवामा प्रवेश गरेदेखि नै खापुङलाई संवेदनशील जिम्मेवारी तोकिने गर्थ्यो । २०५६ साल मंसिरमा सिन्धुपाल्चोकको मांखामा ‘कडन एन्ड सर्च अपरेसन’ मा सहभागी हुँदा उनले गोली खाए तर त्यही घाउसँगै उनले आफ्नो जीवन–यात्रा अगाडि बढाए । प्रहरी सेवामा उच्च पदमा पुग्दा घाइते हुने दुर्लभ उदाहरण उनैले स्थापित गरेका छन् ।
उनको करियरमा विवाद भने खासै छैन । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वदेखि कोसी प्रदेश प्रहरी प्रमुखसम्म रहँदै उनले आफ्नो कार्यशैलीलाई नाप–जोखमा राख्न सके ।
पछिल्लो समय अपराध अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख भएर काम गर्दा पनि उनी चर्चाभन्दा बढी परिणाममा केन्द्रित भएको सहकर्मीहरू बताउँछन् ।
प्रहरी प्रमुख बन्नुअघि उनी गीतसंगीतमा रमाइरहेको कुरा नजिकका साथीहरूले सुनाउँछन्। दौडधुप गरेर राजनीतिक आशीर्वाद खोज्नेभन्दा ‘नियमले न्याय गर्छ’ भन्ने विश्वासमा उनी अडिएका थिए । यही कारणले पनि उनको नियुक्ति ‘संघर्ष जितेको कथा’ जस्तो देखिएको छ ।
अब खापुङसँग नेपालको प्रहरी संगठनलाई मात्र होइन, आफ्नै छोटो कार्यकाललाई पनि ‘स्मरणीय’ बनाउन चुनौती छ । उनी ३० वर्षे सेवाअवधिका कारण आगामी कात्तिक २६ गते अनिवार्य अवकाशमा जान्छन् । यसरी हेर्दा सम्भवतः इतिहासकै दोस्रो सबैभन्दा छोटो कार्यकाल पाउने प्रहरी महानिरीक्षक बन्नेछन् ।
तर उनले भोगेको संघर्ष र पाएको अवसरलाई नियाल्दा, उनको आइजिपी बन्ने यात्रा असामान्य संयोग र साहसको संगम हो भन्नेमा दुईमत छैन ।








