एमालेलाई निर्णायक शक्ति बनाउन विधान संशोधन हुन्छ- उपमहासचिव ज्ञवाली
काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीलाई मुलुकको निर्णायक शक्ति बनाउने लक्ष्यसहित विधान संशोधनको तयारी भइरहेको बताएका छन् ।
शनिबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनमार्फत विधानमा आवश्यक सुधार गरिने जानकारी दिए । उनले भने, “समृद्ध नेपाल, सुखी नेपाली अब केवल आकाङ्क्षा मात्र होइन, हाम्रो गन्तव्य हो। विधानमै त्यो प्रष्ट उल्लेख गरेर अघि बढ्छौँ।”
पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका ज्ञवालीले नेपाली विशेषतासहितको समाजवाद पार्टीको अन्तिम गन्तव्य भएको उल्लेख गर्दै यसका लागि बलियो संगठन र सबल नेतृत्व अपरिहार्य रहेको बताए ।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरू एमालेविरुद्ध सक्रिय भए पनि पार्टी अझै पनि सुदृढ भएकाले हल्लाउन नसकिने प्रष्ट पारे ।
“पूर्व राष्ट्रपतिलाई पुनः सक्रिय राजनीतिमा ल्याउनु उचित हुँदैन,” उनले भने, “संविधानले पनि त्यसलाई सुनिश्चित गरेको छ।” महाधिवेशनमा करिब २ हजार ३५० प्रतिनिधि सहभागी हुने बताइएको छ।
विधान संशोधनमा दुई कार्यकाल र उमेर सीमा जस्ता प्रावधानलाई व्यवहारिक बनाउन फेरबदल हुने जानकारी पनि ज्ञवालीले दिए । उनका अनुसार, मुलुकको वर्तमान परिस्थिति र जनताको चाहना केपी शर्मा ओलीकै नेतृत्वतर्फ केन्द्रित भएकाले सोही दिशामा पार्टी अघि बढ्नेछ।








