प्रधानमन्त्री ओली चीनको एससीओ प्लस शिखर सम्मेलनमा सहभागी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा सोमबारदेखि सुरु भएको शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लस शिखर सम्मेलनमा सहभागी छन् ।
सम्मेलनमा प्रधानमन्त्री ओलीसहित विभिन्न सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम तय छ ।चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिने भ्रमणका लागि चीन आएका प्रधानमन्त्री ओली आजसम्म दुईपक्षीय भेटवार्तामा पनि सक्रिय छन् ।
आज उहाँको क्रमशः रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता हुनेछ ।
प्रधानमन्त्री ओलीले एससीओ प्लस सम्मेलनमा सहभागी मुलुकबीच सहयोगका अवसर र क्षेत्रीय शान्ति, स्थिरता तथा आर्थिक विकासका विषयमा छलफल गर्ने बताइएको छ ।








