कागेश्वरी धामको कागे अष्टमी मेलामा स्काउट स्वयंसेवकको सक्रिय सहभागिता
काठमाडौं । कागेश्वरी धाममा यसपालि पनि कागे अष्टमी मेलामा स्काउट स्वयंसेवकहरूले सक्रिय भूमिका निर्वाह गरेका छन्। मेलामा दर्शनका लागि आएका भक्तजनलाई सहजता मिलाउन स्काउट टोली निरन्तर खटिएको थियो।
स्काउटका लिडर, रोभर–रेन्जरदेखि साना सदस्यसम्म मेलामा स्वयंसेवामा जुटेका थिए। उनीहरूले दर्शन गर्न आउने भक्तजनलाई लाइन व्यवस्थापन गर्ने, वृद्धवृद्धा र अशक्तलाई सहयोग पुर्याउनेदेखि ट्राफिक व्यवस्थापनमा समेत उल्लेखनीय योगदान दिएका थिए।
नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक तथा नेसनल ओपन स्काउट क्र्यूका संस्थापक रोभर लिडर बिदुर गिरिको समन्वयमा विभिन्न क्र्यू र ट्रुपका स्वयंसेवक परिचालन गरिएका थिए। मेलामा उपस्थित स्थानीय जनप्रतिनिधि र भक्तजनहरूले स्काउट टोलीको सेवाभावप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि निरन्तर यस्तै योगदान जारी रहने विश्वास व्यक्त गरेका छन्।








