१९ मंसिर २०८२, शुक्रबार

एमालेको विधान महाधिवेशनकाे तयारी पूरा : पार्टीमा वैचारिक मतभेद छैन-महासचिव पाेखरेल

प्रकाशित मिति :  3 September, 2025 3:31 pm


काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा कुल २ हजार ३४१ जना सहभागी हुने भएका छन्। आगामी भदौ २० गते ललितपुरको गोदावरीस्थित सनराज इ हलमा हुने महाधिवेशनको तयारी पूरा भएको पार्टीले जनाएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै पार्टीले २ हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजकसहित कुल सहभागी संख्या २ हजार ३४१ हुने बताएको हो । महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले भदौ २० गते बिहान ११ बजे गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

साथै, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना प्रतिवेदन पेश गर्नेछन् ।

प्रतिनिधिहरूबीच समूहगत छलफलको व्यवस्था गरिएको छ भने विधान महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगको भावी नेतृत्व समेत निर्वाचित गर्नेछ ।

महाधिवेशनलाई सफल बनाउन आठ उपसमिति गठन गरिएको छ । प्रतिनिधि व्यवस्थापन तथा अद्यावधिक सूची तयार गर्ने काम केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको नेतृत्वमा सम्पन्न भएको छ ।

आवास व्यवस्थापन लालबाबु पण्डित, स्वयंसेवक परिचालन भानुभक्त ढकाल, स्वास्थ्य व्यवस्थापन कृष्णगोपाल श्रेष्ठ, प्रचार व्यवस्थापन राजेन्द्र गौतम, मञ्च तथा साजसज्जा विनोद श्रेष्ठ, सांस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापन हेमराज राई र खाद्य तथा सचिवालय व्यवस्थापन भीष्म अधिकारीको नेतृत्वमा हुनेछ।

सातदोबाटो चोकदेखि महाधिवेशन स्थलसम्म स्वागतद्वार, झाँकी प्रदर्शन, यातायात सुविधा, स्वयंसेवक र स्वास्थ्य टिमलगायतका सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ ।

पत्रकार सम्मेलनमा बाेल्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको विषयमा केन्द्रीय कमिटीमा उठेको फरक मतलाई विधान महाधिवेशनमा छलफल गर्ने कि राष्ट्रिय महाधिवेशनमा भन्ने टुंगो सचिवालय बैठकले लगाउने बताएका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता खोसिएको नभई परित्याग गरेको विषय भएको स्पष्ट पारे । उनले परित्यागसम्बन्धी निर्णयमा पूर्वराष्ट्रपति र उपराष्ट्रपतिको हकमा गरेको पार्टीको अघिल्लो फैसला कायमै रहेको बताए । पार्टी निर्णयकाे विपक्षमा मात्र फरक मत आएकाे भन्दै महासचिव पाेखरेलले दस्तावेजमाथि फरक मत नआएकाे बताए ।



प्रतिक्रिया दिनुहोस !