एमाले सचिवालय बैठक आज : विधान महाधिवेशन तयारीमा छलफल
काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ । बैठक आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरीमा हुने विधान महाधिवेशनको तयारीलाई केन्द्रित रहनेछ ।
पार्टी प्रचार विभागप्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने छ ।
“केन्द्रीय सचिवालयमा सबै दस्तावेज प्रस्ताव गरेर विधान महाधिवेशनमा लैजाने तयारी गरिएको हो,” गौतमले बताए । उनका अनुसार यसअघि केन्द्रीय कमिटी बैठक बस्ने चर्चा भए पनि समय अभावका कारण सम्भव भएको छैन ।
“हामीले अघिल्लो केन्द्रीय कमिटी बैठकबाट सुझाव लिइसकेका छौँ । विधान महाधिवेशनका प्रतिनिधिहरू सार्वभौम हुने भएकाले आफ्ना धारणा त्यही राख्न सक्नेछन्,” उनले स्पष्ट पारे । एमालेको विधान महाधिवेशनमा पार्टी संरचना, नीति र संगठनसम्बन्धी महत्त्वपूर्ण विषयहरूमा निर्णय हुने अपेक्षा गरिएको छ ।








