१९ मंसिर २०८२, शुक्रबार

एमालेकाे विधान महाधिवेशन भोलिदेखि सुरु हुँदै : देशभरका २ हजार ३४१ जनाकाे सहभागिता हुँदै

प्रकाशित मिति :  4 September, 2025 11:04 am


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि ललितपुरको गोदावरीस्थित सनराज ई हलमा सुरु हुने दोस्रो विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २० गते बिहान ११ बजे गर्ने कार्यक्रम तय भएको छ । महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजकसहित २ हजार ३४१ जना सहभागी हुनेछन् ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने नारासहित सम्पन्न हुने महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ।

त्यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल गरिनेछ ।

महाधिवेशनमा केन्द्रीय निर्वाचन आयोगको भावी नेतृत्व समेत चयन गरिनेछ। कार्यक्रमलाई व्यवस्थित बनाउन आठ उपसमिति गठन गरिएको छ ।

प्रतिनिधि व्यवस्थापन काशीनाथ अधिकारी, आवास लालबाबु पण्डित, स्वयंसेवक परिचालन भानुभक्त ढकाल, स्वास्थ्य कृष्णगोपाल श्रेष्ठ, प्रचार राजेन्द्र गौतम, मञ्च तथा साजसज्जा विनोद श्रेष्ठ, सांस्कृतिक कार्यक्रम हेमराज राई र खाद्य तथा सचिवालय व्यवस्थापन भीष्म अधिकारीको नेतृत्वमा हुने व्यवस्था मिलाइएको छ ।

पार्टीले सातदोबाटोदेखि गोदावरीसम्म स्वागतद्वार, झाँकी, यातायात सुविधा, स्वयंसेवक र स्वास्थ्य टिमलगायत सबै तयारी पूरा भएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !