पूर्वसांसदको योगदान अतुलनीय-सभामुख घिमिरे
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले लोकतन्त्रको स्थापना, संविधान निर्माण र संसद्को दीर्घकालीन यात्रामा पूर्वसांसदहरूको योगदान अतुलनीय रहेको बताएका छन् ।
संघीय संसद् भवनमा आज आयोजित ‘पूर्वसांसद मञ्च, नेपाल’को २६औँ स्थापना दिवस समारोह तथा ज्येष्ठ पूर्वसांसद सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले देशको राजनीतिक रूपान्तरणमा पूर्वसांसदहरूको ऐतिहासिक भूमिका स्मरण गरे ।
“पूर्वसांसदज्यूहरू हाम्रो राष्ट्रिय जीवनको अभिन्न हिस्सा हुनुहुन्छ। उहाँहरूको योगदान मूल्याङ्कनभन्दा परको विषय हो,” उनले भने, “यस्ता योगदानका बाबजुद उहाँहरूले आधारभूत स्वास्थ्य सुविधा पाउन नसकेको अवस्था दुःखद् छ । त्यसैले उहाँहरूको स्वास्थ्योपचारलाई सहज र निःशुल्क बनाउन आवश्यक नीतिगत तथा व्यवस्थापकीय पहलमा जुटिरहेका छौँ ।”
सभामुख घिमिरेले पूर्वसांसदप्रति सम्मान प्रकट गर्दै, राज्यले उनीहरूको स्वास्थ्य र कल्याणप्रति संवेदनशील हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पनि पूर्वसांसदहरूप्रति सम्मान व्यक्त गर्दै, उनीहरूको स्वास्थ्य, आवास र सामाजिक सुरक्षाको सवालमा राज्यले स्पष्ट नीति ल्याउन जरुरी रहेको बताइन् ।
उनले भनिन्, “भोलि हामी पनि पूर्वसांसद हुनेछौँ। आज जुन समस्या पूर्वसांसदहरू भोगिरहनुभएको छ, त्यो भविष्यमा हामीमाथि पनि आउन सक्छ । त्यसैले समयमै यी विषयमा व्यवस्थापन गर्न जरुरी छ ।”
रानाले पूर्वसांसदहरूको जीवनयापनलाई सहज बनाउन सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिइन् । यस्तै, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले देशको राजनीतिक सङ्क्रमण, लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण तथा संसद्को संस्थागत विकासमा पूर्वसांसदहरूको योगदानलाई स्मरण गर्दै, अब उनीहरूलाई राज्यद्वारा औपचारिक रूपमा संरक्षण गर्ने समय आएको धारणा राखिन् ।
कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वसांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठ, उपाध्यक्ष गोविन्दबहादुर शाह, घनेन्द्र बस्नेतलगायतले आज गरिएको सम्मानलाई देशको राजनीतिप्रतिको सम्मान भएको टिप्पणी गरे । उनीहरूले सभामुख घिमिरे र उपसभामुख रानालाई धन्यवाद दिँदै, यो पहललाई नीति निर्माणसम्म पु-याउन आग्रह गरे ।
पूर्वसांसदहरूको संस्थागत संगठनका रूपमा क्रियाशील ‘पूर्वसांसद मञ्च, नेपाल’ले विगत २६ वर्षदेखि पूर्वसांसदहरूको हकअधिकारका लागि आवाज उठाउँदै आएको छ ।








