एमाले विधान महाधिवेशन दोस्रो दिनको कार्यक्रम सुरु
गोदावरी । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनको दोस्रो दिनको कार्यक्रम एक घण्टा ढिला गरी सुरु भएको छ । हरिसिद्धि घुम्तीमा महाधिवेशनमा सहभागी प्रतिनिधि सवार गाडीले एक बालिकालाई ठक्कर दिएपछि बाटो अवरुद्ध हुँदा कार्यक्रम ढिला भएको हो ।
घटनापछि बालिकालाई उपचारका लागि अस्पताल लगिएको र सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । उनले बालिकाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दुर्घटनालाई दुर्भाग्यपूर्ण भने पनि यसलाई लिएर राजनीति गर्न खोजिएकोमा दुःख व्यक्त गरे ।
‘‘सामान्य रूपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिएको छ । त्यस्तो कुनै नियत थिएन । पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घटनाप्रति दुःख व्यक्त गर्दछु,’‘ ओलीले भने, ‘‘यस्ता अप्रिय घटना कहिलेकाहीँ हुन्छन्, तर भइदियो । त्यसैले कार्यक्रम सुरु हुन केही ढिलो भयो ।’‘
गोदावरीस्थित सनराइज सभाहलमा जारी बन्दशत्रमा शुक्रबार निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रतिवेदन प्रस्तुत भएपछि प्रतिनिधिहरू १० समूहमा विभाजन गरी छलफलमा जुट्ने कार्यक्रम रहेको छ ।
यसअघि शुक्रबार अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद् संयोजक अमृत बोहोराले प्रतिवेदन प्रस्तुत गरिसकेका थिए । बाँकी निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन शुक्रबारकै बन्दशत्रमा पेस गरिनेछ ।








