१९ मंसिर २०८२, शुक्रबार

एमालेको विधान महाधिवेशन आज सकिँदै : राजनीतिक र समसामयिक प्रस्ताव पारित हुने

प्रकाशित मिति :  7 September, 2025 8:01 am


काठमाडौँ । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन आज समापन हुँदैछ । शुक्रबारदेखि सुरु भएको महाधिवेशनले पार्टीको आगामी नीति, विधि र संगठनात्मक संरचना तय गर्ने एजेन्डामा केन्द्रित रही अन्तिम दिनमा निष्कर्ष निकाल्ने तयारी गरेको हो ।

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको सांगठनिक प्रस्तावमाथि छलफल भइरहेको छ । ती प्रतिवेदनमाथि १० वटा समूह बनाएर विस्तृत छलफल गरिएको छ ।

समूहगत छलफलमा उठेका सुझाव र प्रश्नहरूको जवाफ अध्यक्ष ओलीसहित सम्बन्धित पदाधिकारीहरूले आजै दिने कार्यक्रम छ । यस्तै, समसामयिक प्रस्ताव तयार पार्न नेता योगेश भट्टराईको नेतृत्वमा बनेको समितिले तयार पारेको प्रस्ताव पनि महाधिवेशनमा प्रस्तुत हुने भएको छ ।

बैठकले राजनीतिक प्रतिवेदनसँगै समसामयिक प्रस्ताव पारित गरेपछि महाधिवेशन औपचारिक रूपमा समापन हुने एमालेले जनाएको छ ।

तीन दिनसम्म चलेको विधान महाधिवेशनले पार्टीको नीति र विधि स्पष्ट गर्ने मात्र नभई संगठनलाई बलियो बनाउने आधार तयार गर्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !