निजामती सेवाले प्रविधिमैत्री र नागरिक केन्द्रित सेवा दिनुपर्छ-मन्त्री न्यौपाने
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत छिटो, सरल र पारदर्शी सेवा दिनुपर्ने बताएकी छन् ।
२२औँ निजामती सेवा दिवस–२०८२ को अवसरमा आज शुभकामना सन्देश दिँदै मन्त्री न्यौपानेले विश्व तीव्र गतिमा रूपान्तरण भइरहेको वर्तमान युगमा डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता, बिग डाटा र नवप्रवर्तनशील उपायहरूको उपयोग गरी सेवाप्रवाहलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइन् ।
व्यावसायिक र तटस्थ निजामती सेवाको अभावमा कुनै पनि राष्ट्रको शासन प्रणाली प्रभावकारी बन्न नसक्ने भन्दै उनले नीति निर्माणदेखि कार्यान्वयन, सेवा प्रवाह र विकास व्यवस्थापनसम्म निजामती सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिन् ।
‘‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन अपरिहार्य हुन्छ,’‘ मन्त्री न्यौपानेले भनिन्, ‘‘त्यसैले निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत सेवा दिनु अनिवार्य बनेको छ ।’‘
उनका अनुसार, कर्मचारीहरूको क्षमता अभिवृद्धि, व्यावसायिकता, निरन्तर सिकाइ र सुधारमार्फत मात्र नागरिकको विश्वास आर्जन गर्न सकिने भएकाले राज्यप्रति जिम्मेवार, सदाचारयुक्त, परिणाममुखी र सृजनशील प्रशासनिक संरचना निर्माण गर्नु आजको आवश्यकता हो ।
मन्त्री न्यौपानेले निजामती सेवा दिवसले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई देश र जनताको सेवा गर्न अझ प्रोत्साहित गर्ने विश्वास पनि व्यक्त गरिन् ।








