नेकपा एमालेको विधान महाधिवेशन सम्पन्न : प्रतिवेदनहरू सर्वसम्मतिले पारित
केपी शर्मा ओलीलाई तेस्राे पटक अध्यक्ष बन्ने बाटाे खुल्ला
ललितपुर । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनले प्रस्तुत गरिएका सबै प्रतिवेदनहरू सर्वसम्मतरूपमा पारित गरेको छ ।गोदावरीस्थित सनराइज हलमा तीन दिनसम्म चलेको महाधिवेशनको अन्तिम दिन आइतबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गर्नुभएको संगठनात्मक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको हो ।
त्यसैगरी, केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदन, केन्द्रीय अनुशासन आयोग अध्यक्ष केशव बडालको प्रतिवेदन, केन्द्रीय लेखा आयोग अध्यक्ष डा. पुष्प कँडेलको प्रतिवेदन र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बाले प्रस्तुत गर्नुभएको प्रतिवेदन पनि महाधिवेशनले अनुमोदन गरेको छ ।
महाधिवेशनमा प्रतिनिधिहरूलाई समूहगत छलफलका लागि १० समूहमा विभाजन गरिएको थियो । छलफलका क्रममा प्राप्त सुझाव आइतबार समूह नेताहरूले प्रस्तुत गरेका थिए ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य’ नारासहित सम्पन्न महाधिवेशनमा देशभरबाट आएका २,०२६ जना प्रतिनिधि तथा आयोजकसहित कूल २,३४१ जना सहभागी भएका थिए ।








