मध्य पहाडी जनजागरण अभियानले मुलुकभर उत्साह र आशा जगाएको छ-अध्यक्ष प्रचण्ड
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले सञ्चालन गरेको मध्य पहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानले मुलुकभर उत्साह र आशा जगाएको बताएका छन् ।
शनिबार उपाध्यक्ष, महासचिवलगायतको उच्चस्तरीय टोलीसहित प्रचण्ड लम्जुङको राइनास नगरपालिका पुगेका थिए । तीनपिप्लेस्थित कार्यक्रममा सम्बोधन गर्दै उनले वर्षाका कारण केही समय स्थगित भए पनि अपेक्षाभन्दा बढी जनसहभागिता देखिनु उत्साहप्रद रहेको बताए ।
‘‘यो अभियानले पार्टीप्रति मात्र नभई जनतामाझ पनि नयाँ ऊर्जा थपेको छ,’‘ प्रचण्डले भने । उनले विगतमा हुलाकी राजमार्ग तथा मध्य पहाडी लोकमार्ग अभियानका क्रममा सहिद परिवारसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको पीडा र अनुभव सुन्ने परम्परा कायम राखिएको स्मरण गराए ।
‘‘हामी हाम्रो वर्ग, हाम्रो विचार र जनतासँग टुटेको कडीलाई पुनः जोड्न आएका हौँ,’‘ प्रचण्डले स्पष्ट पार्दै कांग्रेस वा एमालेका स्थानीय जनप्रतिनिधिहरूले समेत अभियानमा स्वागत र सहयोग गर्ने परम्परा देखिएको बताए ।
उनका अनुसार, ठूला नेताप्रति मनपर्ने–नपर्ने जे भए पनि स्थानीय तहका जनप्रतिनिधिहरूले माओवादी नेतृत्वलाई देशको समस्या समाधान गर्न सक्ने शक्ति भनेर स्वीकार गरेका छन् । ‘‘यही कारणले यो अभियान अब सिङ्गो राष्ट्रकै अभियान बनेको छ,’‘ उनले जोड दिए ।








