एमाले महासचिव पोखरेलको आह्वान-नयाँ पुस्ताको विश्वास जित्दै प्रतिगमनको सामना गरौँ
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्दै पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् स्टाटस लेख्दै उनले पछिल्ला घटनाक्रमलाई मनन गर्दै नयाँ पुस्ताको विश्वास जित्नेगरी पार्टी गतिविधि सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
महासचिव पोखरेलले आन्दोलनको आवरणमा गरिएका प्रतिगमनकारी र विध्वंसकारी गतिविधिको विरोध गर्नुपर्ने बताए । उनले जनतासँगको सम्बन्धलाई जीवन्त र घनिष्ठ बनाउनुपर्ने र पार्टी जीवनशैलीलाई जनपक्षीय बनाउन जोड दिएका छन् ।
उनले आन्तरिक एकता मजबुत बनाउँदै पार्टी पंक्तिको मनोबल उच्च राख्नुपर्ने आवश्यकता औंल्याए । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी सबैमा रहेको उल्लेख गर्दै पोखरेलले लोकतान्त्रिक शक्तिहरूसँग सहकार्यलाई निरन्तरता दिनुपर्नेमा पनि जोड दिए ।
“जबजको जगमा उभिएको हाम्रो पार्टी र आन्दोलनले वर्तमानका सबै चुनौतीलाई सम्बोधन र समाधान गर्न सफल हुनेछ,” पोखरेलले लेखेका छन् ।









