१९ मंसिर २०८२, शुक्रबार

जेन-जी प्रदर्शन : मृतककाे सङ्ख्या ७४ पुग्याे

प्रकाशित मिति :  17 September, 2025 4:38 pm


काठमाडौँ । काठमाडौँको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा बुधबार फेरि एउटा जलेको शव फेला परेको छ । जिल्लाप्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार शव पूरै डढेको अवस्थामा रहेकाले तत्काल पहिचान खुल्न सकेको छैन ।

योसँगै जेनजी आन्दोलनपश्चात् मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि चुच्चेपाटीस्थित भाटभटेनीबाट जलेको अवस्थामा सात शव फेला परेका थिए, तर ती शवको पनि अहिलेसम्म पहिचान हुन सकेको छैन ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएका अस्थिपञ्जर र अज्ञात शवहरूले न केवल अस्पतालको शवगृह भरिएको छ, बरु पीडित परिवारहरूको प्रतीक्षालाई अझ लम्ब्याएको छ । पहिचान हुन नसक्दा कति परिवार अझै आफ्ना हराएका सदस्यको खोजीमा अलमलिएका छन् ।

जलेका शवहरूको पहिचान कठिन हुँदै गएको अवस्थामा डीएनए परीक्षणको आवश्यकता बढेको देखिएको छ । तर प्रक्रियागत ढिलाइ र दक्षजनशक्तिको कमीका कारण पहिचान तत्काल हुन नसक्ने संकेत छ ।

विशेषज्ञहरू भन्छन्-“शव भेटिँदा मात्र संख्या बढाउने काम नगरिकन राज्यले पीडितको पहिचान र न्यायलाई प्राथमिकता दिनुपर्छ ।”

यसरी, भाटभटेनीमा पटक–पटक भेटिएका जलेका शवहरूले आन्दोलनको मानवीय क्षति अझ गहिरो बनाएको छ, जहाँ मृत्यु मात्र होइन, पहिचानविहीनताको पीडा पनि परिवारहरूले भोगिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !