गणेशमान सिंहको २८औँ स्मृति दिवस विविध कार्यक्रमसहित मनाइँदै
काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको प्रतिमूर्ति मानिने सिंह लोकतन्त्रप्रेमी पुस्ताका लागि प्रेरणाका स्रोतका रूपमा रहेका छन् ।
सिंहले २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गर्दा समेत आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै त्यागको उच्च उदाहरण प्रस्तुत गरेका थिए ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मेका सिंह विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्का सदस्य हुँदै राणाशासनविरुद्धको संघर्षमा प्रवेश गरेका थिए ।
त्यही संघर्षकै क्रममा उनलाई जेल हालिएको थियो । तर, विसं २००७ भन्दा अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंह भारत पुगेर बिपी कोइरालासँग राजनीतिक सम्बन्ध गाँसे र नेपाली राष्ट्रिय कांग्रेसको विकासमा योगदान दिए ।
२००७ सालको प्रजातान्त्रिक क्रान्तिमा वीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका सिंह देशमा प्रजातन्त्र बहालीका एक अग्रपंक्तिका नेता बने ।
विसं २०१५ सालको पहिलो आम निर्वाचनपछि बनेको सरकारले उनलाई वरिष्ठ मन्त्रीको जिम्मेवारी दिएको थियो । तर २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि उनले करिब आठ वर्षसम्म सिंहदरबार र सुन्दरीजल कारागारमा बिताउनुपर्यो ।
विसं २०३३ मा बिपी कोइरालासँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केका सिंहले पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्ष गरे ।
२०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहदेखि २०४२ सालको सत्याग्रह आन्दोलनसम्म उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा उनी सर्वोच्च कमाण्डरका रूपमा स्थापित भए ।
सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । लोकतन्त्र र मुलुकको राजनीतिक रूपान्तरणमा उनको योगदानलाई नेपाली राजनीति अझै सम्झिरहेकै छ ।
नेता सिंहको २८औँ स्मृति दिवसका अवसरमा आज नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरेका छन् ।
बिहान ७ः४५ बजे शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा माल्यार्पण गरी स्मृति दिवसको औपचारिक कार्यक्रम आरम्भ गरिएको छ ।








