१९ मंसिर २०८२, शुक्रबार

जनमत पार्टी संकटमा : वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ नेताको सामूहिक राजीनामा

प्रकाशित मिति :  18 September, 2025 3:16 pm


दाङ । जनमत पार्टीमा आन्तरिक विवाद चुलिँदै गएकै दिन वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित छ नेताले सामूहिक राजीनामा दिएका छन् ।

नेतृत्व परिवर्तनको माग पूरा नभएपछि उपाध्यक्ष खानसँगै केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सिके सिंह, सुदूरपश्चिम प्रदेश इञ्चार्ज राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

राजीनामा दिएका नेताहरूले हिजो अध्यक्ष डा. चन्द्रकान्त राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई २४ घण्टाभित्र स्वेच्छिक राजीनामा दिन अल्टिमेटम दिएका थिए तर माग बेवास्ता गर्दै अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत अपहेलनापूर्ण भाषा प्रयोग गरेको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएको स्पष्ट पारेका छन् ।

यसैबीच, जनमत पार्टीको मधेश प्रदेश संसदीय दलले मुख्यमन्त्री सतीशकुमार सिंहविरुद्ध कारबाहीको सिफारिस गरेको छ । अनुशासन उल्लंघन गरेको भन्दै कारबाहीका लागि पार्टी नेतृत्वलाई पत्र पठाइएको दलका नेता महे प्रसाद यादवले जानकारी दिए ।

जेन जी आन्दोलनको दोस्रो दिन सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका मुख्यमन्त्री सिंहले औपचारिक राजीनामा भने पेश नगरेका कारण पार्टीले २४ घण्टे स्पष्टीकरणसमेत माग गरेको छ । सिंहले प्रदेशसभा विघटन नभएसम्म पद नछोड्ने अडान दोहोर्‍याउँदै आएका छन् ।

यसअघि जनमत पार्टीबाट मधेश प्रदेश सरकारमा सहभागी भएका वन तथा वातावरण मन्त्री सञ्जय यादव र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहा पदत्याग गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !