संविधान दिवस तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदै
काठमाडौँ । नेपालको संविधान जारी भएको आज एक दशक पूरा भएको छ । संविधानसभाबाट २०७२ साल असोज ३ गते जारी गरिएको संविधानलाई स्मरण गर्दै आज संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
२०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए । संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको सरकारले यसवर्ष पनि देशव्यापी रुपमा दिवस मनाउन आह्वान गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा आज बिहान मूल समारोह आयोजना गरिएको छ । गृहमन्त्रालयका सहसचिव ऋषिराम तिवारीका अनुसार समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
विशेष राजनीतिक परिस्थितिका कारण यसपटक झाँकीलगायत भव्य प्रदर्शनहरू भने घटाइएको छ । पछिल्ला राजनीतिक आन्दोलन र जनधनको क्षतिको पृष्ठभूमिमा यसवर्ष औपचारिक बहस, छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना नगरिने भएको हो ।
संविधान घोषणाको दशौँ वार्षिकोत्सवलाई उत्सवका रुपमा मनाउन अघिल्लो सरकारले भदौ ८ गते मूल समारोह समिति गठन गरेको थियो । तर, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि राजनीतिक परिदृश्य बदलिएको छ ।
संविधानलाई देशको परिवर्तनशील राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुनका रुपमा सम्मान गर्दै आजको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाइँदै आएको छ ।








