जेनजी आन्दोलनमा गोली हान्ने आदेश नदिएको ओलीको दाबी
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी युवा आन्दोलनका क्रममा सरकारले ताकीताकी गोली हान्ने आदेश नदिएको दाबी गरेका छन् ।
भदौ २३ र २४ गते भएको आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो, जसमा अधिकांशलाई टाउको र छातीमा गोली लागेको प्रतिवेदनमा उल्लेख छ ।
घटनापछि आलोचना बढेपछि ओली प्रधानमन्त्री पदबाट राजीनामा गरेर सैनिक व्यारेकमा ९ दिन बसाइँ गरेका थिए । उनी विहीबार भक्तपुरको गुण्डुस्थित एक घरमा भाडामा बसेका छन् ।
संविधान दिवसका अवसरमा शुक्रबार वक्तव्य जारी गर्दै ओलीले आन्दोलन शान्तिपूर्ण हुने भनिए पनि षड्यन्त्रकारी घुसपैठका कारण हिंसा भएको दाबी गरे ।
उनले भने, “गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनमा घुसपैठ भयो । षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो । सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन ।”
प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग गरी गोली चलाइएको उल्लेख गर्दै ओलीले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने पनि माग गरेका छन् ।








