संवादविना निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भन्दै एमालेको आपत्ति
काठमाडौँ । नेकपा (एमाले) ले राजनीतिक दलहरूसँग कुनै पनि संवाद नगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भन्दै असहमति जनाएको छ ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सोमबार सार्वजनिक गरेको थियो । सो कदमप्रति एमालेले गम्भीर आपत्ति जनाउँदै सुशीला कार्की नेतृत्वको सरकारलाई दलहरूबीच तत्काल संवाद सुरु गर्न आग्रह गरेको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, “यो सरकारले राजनीतिक दलहरूसँग अहिलेसम्म कुनै संवाद नगरी निषेधको व्यवहार देखाउँदै निर्वाचन कार्यतालिका ल्याएको छ। यो हास्यास्पद कुरा हो, सरकार नगर्ने चुनावको धेरै चर्चा गरिरहेको छ।”
उनका अनुसार यदि सरकार साँच्चिकै लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध छ भने, तत्काल राजनीतिक दलहरूलाई विश्वासमा लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने हुन्छ ।
गौतमले भने, “निर्वाचनको वातावरण बनाउन तीन वटा काम अनिवार्य छन्-पहिलो, देशभर शान्ति–सुरक्षा कायम गर्नुपर्छ, दोस्रो, सबै दलसँग तत्काल संवाद थाल्नुपर्छ; र तेस्रो, दलहरूको सुझावका आधारमा सरकार अघि बढ्ने विश्वास दिलाउनुपर्छ ।”
उनले चेतावनी दिँदै थपे, “यदि त्यसो भएन भने, राजनीतिक दलहरूले आफ्ना विचार र धारणा अनुसार स्वतन्त्र रूपमा अघि बढ्नेछन् ।”
गौतमले एमाले संवाद र सहकार्यमा तयार रहेको तर सरकारले ‘निषेधको व्यवहार’ देखाइरहेको आरोप लगाउँदै भने, “हामी सबै दलहरूसँग छलफल गर्न तयार छौं, तर सरकारले हामीलाई बोलाएको छैन । यो लोकतान्त्रिक संस्कृतिको विपरीत हो ।”
एमालेको भनाइमा, आगामी निर्वाचन सबै राजनीतिक शक्तिहरूबीचको विश्वास र पारदर्शितामार्फत सम्पन्न हुनुपर्नेमा सरकारको हालको एकपक्षीय निर्णयले राजनीतिक वातावरणलाई जटिल बनाएको छ ।








