एमाले अध्यक्ष ओलीको निर्देशन : संसद् पुनःस्थापनाका लागि तयार रहनुस्
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका जिल्लास्तरीय नेताहरूलाई संसद् पुनःस्थापनाका लागि हुने आन्दोलनको तयारी गर्न निर्देशन दिएका छन् ।
दुई दिनअघि आयोजित भर्चुअल बैठकमार्फत् अध्यक्ष ओलीले देशभरका जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै पार्टीको आगामी रणनीति संसद् पुनःस्थापनामै केन्द्रित हुने बताएका हुन् ।
बैठकमा सहभागी एक जिल्ला अध्यक्षका अनुसार, ओलीले बैठकमा पार्टीका सबै संरचना र भातृ संगठनहरूलाई सक्रिय बनाउँदै “जागरण कार्यक्रम” टोल–टोलसम्म पुर्याउन निर्देशन दिएका थिए । “हामी अब संसद् पुनःस्थापनामा जानुपर्छ भन्ने कुरामा नै जोड रह्यो”, उनले भने ।
ओलीले बैठकमा पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनका लागि तयार रहन, स्थानीय स्तरमा पार्टी सुदृढीकरणका कार्यक्रम सञ्चालन गर्न र संगठनलाई तयारी अवस्थामा राख्न आह्वान गरेका थिए ।
त्यसक्रममा उनले पार्टी नेतृत्वमा तत्काल कुनै परिवर्तन नहुने स्पष्ट संकेत पनि दिएका छन् । “नेतृत्वको विषय पार्टी केन्द्रीय कमिटीले टुंगो लगाउने र अन्ततः महाधिवेशनले नै फैसला गर्ने हो,” अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै उनले बताए ।
ओलीको सन्देशलाई नेताहरूले स्पष्ट रूपमा संसद् पुनःस्थापनाका पक्षमा उभिने रणनीतिक घोषणाको रूपमा व्याख्या गरेका छन् ।








