१९ मंसिर २०८२, शुक्रबार

आज काङ्ग्रेस पदाधिकारी बैठक बस्दै

प्रकाशित मिति :  9 October, 2025 7:38 am


काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेन–जी आन्दोलनपछिको पहिलो औपचारिक बैठक आज ललितपुरमा बोलाएका छन् ।

पार्टी पदाधिकारीहरूको बैठक दिउँसो १ बजे कुपण्डोलस्थित हिमालय होटलमा बस्ने तय गरिएको छ । २६ असोजमा बस्न लागेको केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने उद्देश्यले आजको बैठक बोलाइएको हो ।

नेताहरूका अनुसार बैठकमा हालको राजनीतिक परिस्थिति, पार्टी संगठन सुदृढीकरण र जेन–जी आन्दोलनपछिका घटनाक्रमबारे पनि विस्तृत छलफल हुनेछ ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि देउवाले पहिलो पटक औपचारिक रूपमा पदाधिकारीहरूलाई एक ठाउँमा बोलाएका हुन् ।

आन्दोलनको दोस्रो दिन बुढानीलकण्ठस्थित देउवा निवासमा भएको आक्रमण र आगजनीपछि उनी पत्नी आरजु राणासहित ललितपुरमा अस्थायी रूपमा बस्दै आएका छन् ।

हाल उनी बसिरहेको ठेगाना सार्वजनिक गरिएको छैन, तर पार्टी स्रोतका अनुसार देउवा हाल ललितपुरकै सुरक्षित स्थानबाट राजनीतिक गतिविधिमा पुनः सक्रिय भएका छन् ।

आजको बैठकले देउवाको पुनर्सक्रियता र कांग्रेस नेतृत्वभित्रको समन्वय पुनर्स्थापित गर्ने संकेतका रूपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस !