एमाले सचिवालय बैठक आज : केन्द्रीय कमिटी असोज २९ देखि
काठमाडाैँ । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बिहान ११ बजे भक्तपुरको गुण्डुमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक व्यवस्थापनका विषयहरू, जेन–जी आन्दोलनपछिको राजनीतिक अवस्थाको मूल्याङ्कन र आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने कार्यसूची रहेको पार्टीले जनाएको छ ।
यसअघि असोज १९ र २० गतेका लागि तोकिएको सचिवालय बैठक अविरल वर्षाका कारण स्थगित गरिएको थियो । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रदेश, जिल्ला र प्रवास संगठनका अध्यक्षहरूसँग भएको भर्चुअल बैठकबारे जानकारी दिने र वर्तमान सरकारले लिन सक्ने सम्भावित कदम तथा आगामी निर्वाचनको सम्भावनाबारे छलफल गर्ने तयारी छ ।
पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठक केही दिन पर सारिएको छ। तयारी नपुगेकाले असोज २७ गतेदेखि गर्ने भनिएको बैठक अब असोज २९ देखि ३१ गतेसम्म बस्नेछ ।
जेन–जी आन्दोलनका क्रममा च्यासलस्थित पार्टी कार्यालयमा आगजनी र तोडफोड भएकाले बैठक स्थल अझै टुंगो लाग्न बाँकी रहेको अधिकारीले जानकारी दिए ।








